पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड पुनः सञ्चालन

२०८० माघ २३, मङ्गलवार ०९:२१ बजे

सङ्खुवासभा : सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोसी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ ।
खाँदबारी–किमाथांका सडक दुई दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए ।
सडकमाथिबाट ठुल्ठूला ढुंगासहितको सुक्खा पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो । सो सडक तिब्बतको चाँगा र देन्दासँग जोडिन्छ । पहिरो खसेपछि उत्तरी क्षेत्रका भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानीमा समस्या थियो ।
सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने बस, बोलेर गाडी र दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका थिए । त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेला–बेला कोसी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ । शनिबार बिहान सडक खन्दै गरेका बेला पहिरो खस्दा स्काभेटरका सहचालक घाइते समेत भएका थिए ।