पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

एक महिनामा पनि खुलेन गरुडा नगरपालिकाको ताला

२०८० माघ १९, शुक्रबार १४:२२ बजे

रौतहट- रौतहट जिल्लाको गरुडा नगरपालिकामा नगरपालिकाकै उपप्रमुखसहितको टोलीले ताला लगाएको एक महिना पुगेको छ । गरुडा नगरपालिकाको मुख्य गेटमै ताला लागेको एक महिना भइसक्दासमेत ताला खुलाउने तर्फ सम्बन्धित् पक्षले पहल नगर्दा सर्वसाधारणहरु मारमा परेका छन्।

विगत एक महिनादेखि गरुडा नगरपालिकाका सर्वसाधारणले गरुडा नगरपालिकाको कार्यालयबाट दैनिक रुपमा पाउने सेवा पाउन सकेका छैनन् । गरुडा नगरपालिकाकी उपमेयर पुनमकुमारी चाैधरी र केही वडा अध्यक्षहरूले नगरपालिकाको मुख्य गेटमा एक महिना पहिला अर्थात् पुसको १८ गते तालाबन्दी गरेका थिए । उनीहरूले विभिन्न माग राखेर कार्यालयमा तालाबन्दी गरेपछि सो नगरपालिकाबाट नगरवासीले पाउनुपर्ने सेवासुविधा पाउन सकेका छैनन् ।

गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले उपमेयर लगायतका केही वडाध्यक्षहरूले यतिबेला आएर बजेटमा भागबण्डा खोजेका कारण समस्या सिर्जना भएको बताए । गरुडा नगरपालिकामा लागेको तालाबन्दी खुलाउनका लागि पटकपटक जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षबीच सहमतिको प्रयास भएपनि अहिलेसम्म सहमति हुन नसक्दा नगरपालिकामा लागेको ताला नखुलेको हो । उपमेयर सहितका वडाध्यक्षहरूले यतिबेला आएर बजेटमा  भागबण्डा खोज्दै तालाबन्दी गरेका कारण नगरवासीहरूले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपरेको नगर प्रमुख कन्थमणी प्रसाद जयसवालको भनाइ  छ ।

आफूले नगरपालिकाको कार्यपालिका बैठकमा बसेर उनीहरूका मागहरुलाई सम्बोधन गर्ने बताएको भए पनि सो कुरालाई वास्ता नगरी उपमेयरसहितका केही जनप्रतिनिधिले नगरपालिकाको मुख्य गेटमा ताला लगाएर बसेका कारण नगरवासी सेवासुविधाबाट बन्चित भएको नगर प्रमुख जयसवालको भनाइ रहेको छ ।

ताला खुलाउने विषयमा अब पनि सहमति नभए आफूले प्रहरी प्रशासन लगाएर भएपनि ताला खोलेर नगरपालिकाबाट सर्वसाधारणले पाउनुपर्ने सेवा सुविधा दिनका लागि आफू तयार भएको नगर प्रमुख जयसवालको भनाइ रहेको छ । उपमेयरसहित केही वडा अध्यक्षहरूले भने बजेटमा नगरप्रमुख जयसवालले एकलौटी गरेको र अहिलेसम्म भएका हिसाबकिताब पारदर्शी हुनुपर्ने बताउँदै नगरपालिकाको कार्यालयमा एक महिना पहिला तालाबन्दी गरेका थिए ।