पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

मणिपाल अस्पतालमा डाक्टरमाथि हातपात

२०८० आश्विन ८, सोमवार १९:०३ बजे

पोखरा–पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेका छन् ।
अस्पतालमा उपचार गर्दागर्दै लमजुङ सुन्दरबजार नगरपालिका–७ का २७ बर्षीय बिरामी सुकमाया दुराको सोमबार दिउँसो निधन भएपछि उनका आफन्तले डाक्टरमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।
किड्नी फेल भएकी दुरा आइतबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । मुटुको समेत समस्या रहेको उनलाई आकस्मिक कक्षबाट आइसियुमा लगेर भर्ना गरिएको अस्पतालले जनाएको छ ।
उपचार गर्दागर्दै बिरामीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड र आक्रमण प्रयास गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरेको भन्दै उनले विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
प्रहरी र अस्पताल प्रशासनले आक्रमणमा परेका डाक्टर लगायत स्वास्थ्यकर्मीका परिचय खुलाएका छैनन् ।