पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

देशको कानुन बिपरित रौतहटका शिक्षक निधिले नेकपा एमालेको मधेस प्रदेश अधिवेशनमा गराए उमेदवारी दर्ता

२०८० आश्विन २६, शुक्रवार १५:०४ बजे

काठमाडौं- नेपालको कानुन बिपरित एक बहालवाला शिक्षकले मधेस प्रदेश अधिवेशनमा मधेस प्रदेश सदस्य पदको लागि मनोनयन दर्ता गरेका छन् । 

रौतहट राजपुर नगरपालिका सरस्वती सदन आधारभुत विद्यालयमा कार्यरत शिक्षक मणिशंकर निधी (प्रा.वि. द्वितीय) ले जनकपुरधाममा जारी मधेस प्रदेश अधिवेशनमा मधेस प्रदेश सदस्य खुल्ला तर्फबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्। 

प्रस्तावक रुपेश पटेल र समर्थक सन्तोष कुमार साहको समर्थनमा एम.एस निधीको नामले आफ्नो उमेदवारी दर्ता गरेका शिक्षक मणिशंकर निधीले नेकपा एमालेबाट बि.सं. २०४७ सालमा पार्टी सदस्यता लिएका थिए। 

सदस्यता नं. १०४९८ नम्बरको पार्टी सदस्य कायम रहेका बहालवाला शिक्षक निधी यस अघि नेकपा एमालेकाे मधेस प्रदेश कमिटीको सचिवालय सदस्य समेत रहेका थिए। 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था हुँदाहुँदै पनि निज शिक्षक देशको कानुन बिपरित राजनीतिक दलको सदस्यता नत्यागी लामो समय देखि राजनिमा सक्रिय हुँदै आएका छन्।