पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

मूर्ती बिसर्जन भए पनि रौतहट र वीरगञ्जमा कर्फ्यू यथावत

२०८० फाल्गुन ८, मंगलबार ०९:१८ बजे

सञ्जय मिश्रा

रौतहट : भारतीय सीमासँग जोडिएको रौतहटको दक्षिणी क्षेत्र ईशनाथ नगरपालिकामा चार दिनको प्रहरीको प्रयासपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यू भने यथावत रहेको छ । उक्त विषयलाई लिएर सोमबार वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका स्थानीय प्रशासनले साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ ।
पर्साका सिडियो दिनेश सागर भुसालका अनुसार वीरगञ्जमा नेपाल प्रहरीबाट ५ सय र सशस्त्र प्रहरीबाट ५ सय गरी एक हजार प्रहरी परिचालन गरिएको छ ।
वीरगञ्ज महानगरको पावरहाउस, मूर्ली, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, माइस्थान, आदर्शनगर, भन्सार एरियालगायतका मुख्य चोक तथा गल्लीमा सुरक्षाकर्मी खटाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले बताए ।

ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा गत शुक्रबारदेखि थन्किएको सरस्वतीको मूर्ति सोमबार अपरान्ह कर्फ्यू अवधिभित्रै विसर्जन गरिएको छ । मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलको सक्रियतामा सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो ।
साविक स्थान घिउरा गाउँको उत्तरपट्टी विद्यालय छेउको सार्वजनिक पोखरीमा मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् । तर, गत शनिबार स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू भने हालसम्म यथावत रहेको छ । त्यसैगरी उक्त क्षेत्रमा शान्ती सुरक्षा कायम राख्न ५०० नेपाल प्रहरी र २०० सशस्त्र गरी परिचालन गरिएको ७०० प्रहरी हालसम्म फिर्ता भएका छैनन् ।
ईशनाथ ७ घीउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने स्थानीय प्रशासनको रोहवरमा गत सनिबार दुई पक्षीय सहमति भएको थियो ।

सहमती अनुसार मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा कैयौं मानिस घाइते भएपछि स्थिति नियन्तरणमा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारिगर्दै सोहिदिन साँझ ५ बजेदेखि लागू हुनेगरी वडा ६ र ७ मा कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यू अवधिमै उश्रृंखल गतिविधि भएपछि भोलिपल्ट आइतबारदेखि कर्फ्यू क्षेत्र फराकिलो बनाएको थियो ।
सिडिओ रेग्मीले एक सूचना जारिगर्दै ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मासमेत अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका थिए ।
पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र जारिभएको कर्फ्यू हालसम्म यथावत छ ।
मधेश प्रदेश नेपाल प्रहरी संगठन प्रमुख डिआईजी पोखरेलका अनुसार ईशनाथको ठूलो विवाद मूर्ति बिसर्जन गर्ने काम भएको छ । हाल अवस्था सामान्य हुँदै गएको छ । पूर्ण रुपमा सामान्य भएपछि क्रमसः त्यहाँ तैनाथ प्रहरी फिर्ता बोलाइने उनले जानकारी दिए । त्यहाँ केन्द्रित भएका नेपाल प्रहरीका डिआइजी पोखरेल, सशस्त्र प्रहरीका डिआईजी दीपेन्द्र शाह, राष्ट्रिय अनुसंधानका डिआइजी सञ्जय यादव तीन दिनपछि सोमबार साँझ फर्किसकेका छन् ।