पाठशाला न्यूज
 २०८१ बैशाख २६, बुधबार    

चैती छठमा आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिएर मनाइँदै

२०८१ बैशाख २, आईतबार ०८:२० बजे

काठमाडौं- मधेस लगायत देशका बिभिन्न भागमा आज चैती छठ पर्व मनाइँदै छ ।

तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । आइतबार छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ्य दिइन्छ । यो दिनलाई सौझकारक पनि भनिन्छ । सोमबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व समापन हुनेछ । छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदाउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई पारन भनिन्छ ।

यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

ब्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुने चलन छ ।

चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ । मधेस लगायत देशका बिभिन्न भागमा यो पर्व धुमधामको साथ मनाउने गरिन्छ।