पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

रौतहटको मौलापुर बजारमा लाखौँको चोरी, प्रहरी विरुद्ध प्रदर्शन

२०८० मंसिर २५, सोमवार ०९:०१ बजे

रौतहट : रौतहटको मौलापुर बजारमा प्रहरी बिट नजिकै रहेको मोबाइल पसलमा लाखौँको चोरी भएको छ ।
आईतवार इलाका प्रहरी कार्यालयदेखि २०० मिटर टाढाको पसलमा चोरी भएको भन्दै आक्रोशित स्थानीय तथा पसलेहरूले आईटी चौकमा टायर बालेर प्रहरी विरुद्ध प्रदर्शन गरेका हुन् ।
व्यवसायीहरू असुरक्षित रहेको भन्दै उनीहरूले सुरक्षाको माग सहित प्रहरी प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । घटनामा संलग्न भएको मानिसलाई अविलम्ब पक्राउ गरी कारबाहीको दायरामा ल्याउन समेत उनीहरूले माग गरेका थिए ।
मौलापुर नगरपालिका– ५ स्थित आईटी चौकमा रहेको लक्षमी ट्रेडर्स हब मोबाइल पसलमा गए राति १६ लाख बराबरको चोरी भएको पीडितले बताएका छन् । पसलको सटरमा लगाएको ताला फोडेर मोबाइल पसलमा चोरी भएको सञ्चालक धीरज पटेलले जानकारी दिए ।

सञ्चालक पटेलका अनुसार पसल चोर समूहले स्मार्ट फोन ३० थान , स्मार्ट एलईडी ४३ इन्च ६ थान, किप्याड मोबाइल ४० थान, राईस कुकर ५ थान, आइरन ४ थान, ल्यापटप १ थान, आईफोन १ थान लगायत अन्य समानहरु लागेका छन् ।
प्रहरीले नियमित गस्ती नगरेको तथा प्रहरीकै लापरबाहीको कारण चोरी भएको स्थानीयहरूको आरोप छ । यता इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले यसबारे आवश्यक अनुसन्धान भइरहेको बताएका छन् ।