पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

सर्लाहीका उखु किसानले पाएनन् अनुदानबापतको २९ करोड भुक्तानी

२०८० आश्विन २९, सोमवार ०७:४५ बजे

सर्लाही- सर्लाहीका उखु उत्पादक किसानले उखु बेचेको सात महिना हुँदा पनि अनुदान बापतको रकम पाएका छैनन् ।

किसानहरूले करिब २९ करोड रुपैयाँ भन्दा पनि बढी अनुदानबापतको रकम सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् ।

किसानहरूले हालसम्म चिनी उद्योगलाई बिक्री गरेको ४१ लाख क्विन्टलभन्दा बढी उखुको राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको प्रतिक्विन्टल ७० रुपैयाँका दरले २९ करोड २५ लाख ५२ हजार ७४९ रुपैयाँ अनुदान भुक्तानी नपाएका हुन् । 

नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले किसानहरूले दशैको मुखमा अनुदानबापतको रकम भुक्तानी नपाउँदा चिन्ता व्यक्त गरेकाछन्। 

जिल्लाका इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौललाई आर्थिक वर्ष २०७९/८० मा १८ हजार दुई सय ८६ किसानले ४१ लाख ७९ हजार तीन सय २४ दशमलव ९९ क्विन्टल उखु बिक्री गरेका थिए ।कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक पुरुषोत्तम बरालका अनुसार हालसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम प्राप्त नभएको र कार्यालयलाई रकम प्राप्त भएपछि पनि करिब दुई साता आन्तरिक तयारी गरेपछी मात्र किसानको खातामै रकम पठाउन सकिने जानकारी दिएका छन्। सरकारले आव २०७९/८० मा उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ निर्धारण गरेको र त्यसमध्ये चिनी उद्योगले प्रतिक्विन्टल ५४० रुपैयाँ भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदानबापत उपलब्ध गराउने सहमति भएको नेपाल उखु उत्पादन किसान महासङ्घका अध्यक्ष मैनालीले बताए । 

सात महिना हुँदा सम्मपनि भुक्तानी नपाएका किसानहरूको लागि आफूहरुले पटक–पटक अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै आएको अध्यक्ष मैनालीले आरोप लगाए ।