पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

आज सीता जयन्ती मनाइदै, राष्ट्रपति पौडेलले दिए शुभकामना सन्देश

२०८१ जेष्ठ ३, बिहीवार ०७:३५ बजे

काठमाडौं- आज वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाइँदै छ।

यहि सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई शुभकामना सन्देश दिएका छन् ।

सीता जयन्तीको शुभकामना सन्देश

राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्‍ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा गरिएको छ । माता सीताको जन्म हाम्रो पौराणिक तथा साँस्कृतिक विश्वासको धरोहरकारूपमा रहि आएको छ । जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धापूर्वक लिइने गरिएको छ ।

माता सीतालाई धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्तिको रूपमा लिइन्छ । एक वीरांगना हुनाका साथै मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्‍न मार्गदर्शन गर्ने आदर्श नारीको रूपमा समेत माता सीताको श्रद्धा गरिन्छ । जगत् जननीको रूपमा पूजा अर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो ।

अन्त्यमा, सीता जयन्तीको यस पावन दिवसले लैङ्‍गिक विभेदलगायत सबै प्रकारका सामाजिक र साँस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्‍ने कामना गर्दछु ।

जय नेपाल !

२०८१ जेठ ३ गते बिहीबार ।