पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

प्रितिको उत्कृष्ट गोलसँगै नेपाल फाइनलमा

२०८० फाल्गुण १६, बुधवार ०१:०३ बजे

काठमाडौं– अन्तिम समयमा प्रिती राईको उत्कृष्ट गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलको मद्दतमा २-१ को नाटकीय जित दर्ता गरेको हो ।

खेल १-१ को बराबरीमा रहेको अवस्थामा नेपालले कर्नर किक पाएको थियो । विमला चौधरीले खेलेको कर्नर किक क्लियर भएपछि बक्स बाहिरबाट प्रितीले गरेको प्रहारले जालि चुमेको थियो ।

त्यसअघि निकै संघर्ष पश्चात ७६औं मिनेटमा नेपालले अन्ततः बराबरी गोल गर्न सफल भयो । रश्मीको पासमा साम्बाको पहिलो प्रहार लमिटाले बचाएपछि डिफेन्डर अमिना करिमले क्लियर नगरेपछि साम्बा आफैले मौकाको फाइदा उठाउँदै गोल गर्न सफल भइन् ।

३८औं मिनेटमा नेपालले खेलमा गोल खान पुगेको थियो । पूजा रानाले गोलकिपर एन्जिलाको लागि खेलेको ब्याकपास उनिभन्दा धेरै टाढा रहेपछि बल सिधै पोस्टमा गएको थियो ।

नेपालले पछिल्लो खेलहरुमा जस्तो खेलमा पकड बनाउन सकेको थिएन । अवसरहरु सिर्जना भएपनि नेपालको फरवार्ड लाइनले अवसरहरूको राम्रोसदुपयोग गर्न सकेन ।

तेस्रो मिनेटमा साम्बाको क्रसले आफ्नो टिममेट भेटाउन सकेन । १३औं मिनेटमा रेखा पौडेलले सुन्दर अवसर खेरा फालिन् । पूजा रानाले आफ्नो हाफबाट खेलेको लामो बल लेबनानले क्लियर गर्न नसकेपछि बनेको वान अन वान अवसरमा उनले पोस्टभन्दा बाहिर प्रहार गरिन् ।

१४औं मिनेटमा साम्बाले बक्स बाहिरबाट लिएको प्रहार पोस्टतर्फ जान सकेन ।

२०औं मिनेटमा लेबनानकी लैला इस्कन्दरको प्रहार नेपाली गोलकिपर एन्जिला सुब्बाले सहजै समातिन् । २८औं मिनेटमा रेखाको अर्को लङ रेन्ज प्रहार पोस्टको दिशामा रहेन ।

४२औं मिनेटमा अमिषा कार्कीको क्रस साम्बासम्म पुग्न सकेन । ५९औं मिनेटमा साम्बाको अर्को प्रहारले लेबनान गोलरक्षकलाई दुःख दिन सकेन ।

६६औं मिनेटमा विमला चौधरीको प्रहार लेबनान गोलरक्षक लमिटा एल दिबले बचाइन् । ७१औं मिनेटमा रश्मी कुमारी घिसिङको प्रहार डिफेन्डरलाई लागेर पोस्टको केही टाढाबाट बाहिरियो । त्यसपछिको कर्नरमा गिता रानाको हेडर पनि पोस्ट तर्फ जान सकेन ।

नेपालले अब फाइनलमा जोर्डनको सामना गर्नेछ । जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेता सँगै प्रतियोगिताको ५ पटकको विजेता हो ।

नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमीफाइनल प्रवेश गरेको हो । उता लेबनानले भने गुआम र साउदी अरेबियामाथि जित हात पारेको थियो भने जोर्डन विरुद्ध पराजित हुदै समूह उपविजेता बन्दै सेमीफाइनल प्रवेश गरेको थियो ।