पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

सुन कारोबारमा संलग्न दुईजना विदेशी हिरासतमा

२०८० श्रावण १२, शुक्रवार १६:२० बजे

काठमाडौँ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन कारोबारमा संलग्न आरोपमा दुईजना विदेशी राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । उनीहरु हुन्, चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ ।
साउन ३ मा मध्यराति सशस्त्र प्रहरीका डिएसपी प्र्रदिप राई नेतृत्वको टोलीले थाप्तेनलाई पक्राउ गरेको थियो । पुरानो दिल्ली घर भएका ५३ वर्षीय छिरिङ काठमाडौँको पानी पोखरीमा बस्छन् । कम्फर्ट हाउजिङस्थित उनी बस्दै आएको फ्ल्याटमा राजस्वले छापा मारेको छ । फ्ल्याटबाट विभागको टोलीले कागजात बरामद गरेको छ ।
विमानस्थलबाट सुन बरामद गरेको भोलिपल्ट (४ साउनमा) चीनतर्फ भाग्न लागेका थिए, जिक्वाङ लिन । नेपाल प्रहरीसँग समन्वय गरेर राजस्व अनुसन्धानको टोलीले दरबारमार्गस्थित उत्तर ढोकाबाट पछ्याएर उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
विहीबार राजस्वले चिनियाँ नागरिक जिक्वाङ लिन बस्ने डेरामा पनि छापा मारेको छ । जिक्वान र अरु दुईजना चिनियाँ बस्दै अएको डेरामा भेटिएको कागजात विभागले जफत गरेर विश्लेषण गरिरहेको छ ।
चिनियाँ र भारतीय नागरिक सुन तस्करीमा ‘मध्यस्थकर्ता’ मात्रै भएको राजस्व विभागको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । ‘सुनमा उनीहरु लगानीकर्ता होइनन’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने– ‘जिक्वाङ र थाप्तेन दुवैजना मध्यस्तकर्ता मात्रै हुन् ।’
सुनको लगानीकर्ता मध्येका व्यापारी राकेशकुमार अडुकिया भएको विभागका अधिकारीहरुको आशंका छ । साउन १० मा विभागको टोलीले कमलपोखरीस्थित अडुकियाको घरमा खानतलासी गरेको थियो । अडुकियाले पछिल्लो समय हङकङ, भारत र दुबईको भ्रमण गरेको भेटिएको छ । नेपालमा व्यापार व्यवसाय गर्दै आएका अडुकिया फरार छन् ।
सुन झिकेर ‘रिप्याक’
सुन रहेको आशंकामा सोह्रखुट्टेबाट बरामद गरिएको ‘ब्रेक प्याड’ मा सुन भेटिएन । राजस्व अनुसनधान विभागका अधिकारीहरुका अनुसार सुन झिकेर ‘रिप्याक’ गरेर ब्रेक प्याड दुरुस्त बनाएर राखेको भेटिएको छ । अनुसन्धानका संलग्न एकजना अधिकृत भन्छन ‘५५ बाकस ब्रेक प्याड सुन झिकेर रिप्याक गरेको देखिन्छ ।’
साउन १० मा विभागले सोह्रखुट्टेमा रहेको ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा मारेको थियो । विमानस्थलबाट बरामद सुन सोही कम्पनीले हङकङबाट मगाएको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन ‘सोह्रखुट्टेको गोदामको सामान रिप्याक भएको भेटिएसँगै पहिले पनि सो गिरोहले सुन ल्याउने गरेको देखियो ।’