पाठशाला न्यूज
 २०८१ आषाढ ३, आइतवार    

ताइवान वरपरको क्षेत्रमा चीनले सुरु गर्यो युद्धअभ्यास

२०८१ जेष्ठ १०, बिहीवार ०९:४८ बजे

फाईल तस्वीर 

काठमाडौं : ताइवानका नयाँ राष्ट्रपति विलियम लाईले शपथ ग्रहण गरेको तीन दिनमा ताइवान वरपरको क्षेत्रमा चीनले सैन्य अभ्यास सुरु गरेको छ ।
यो अभ्यासलाई चीनले पृथकतावादीविरुद्धको कारबाही भनेको छ । बीबीसीका अनुसार चिनियाँ पिपुल्स लिबरेशन आर्मी पीएलएका प्रवक्ता ली शीले यो अभ्यासलाई पृथकतावादी गतिविधिविरुद्धको कडा कारबाहीको संज्ञा दिए । उनले आफ्नो जल तथा हवाई सेनाले संयुक्त रुपमा अभ्यास थालेको भन्दै यो अभ्यासले पृथकतावादीको चेत खुल्ने धम्कीसमेत दिए ।
आज बिहान सुरु भएको चिनियाँ सैन्य अभ्यास ताईवानी मुख्यद्वीपको चारैतर्फ जारी छ । किनमेन, मात्सु, उकिउ र डोङगियन द्वीप वरपरको आकाशमा कयौँ चिनियाँ लडाकु जहाजले फन्को मारेका छन् ।
चिनियाँ सैन्य अभ्यासविरुद्ध ताइवानको रक्षा मन्त्रालयले कडा शब्दमा आपत्ति जनाएको छ । साथै देशको सम्प्रभुता रक्षाका लागि आफ्नो नौसेना, वायु तथा स्थल सेना तयारी अवस्थामा रहेको ताइवानी रक्षा मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
चीनले ताइवान आफ्नो भूभाग भएको दाबी गरिरहेको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश भन्दै आएको छ ।