पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

खुर्सानी बेचेरै वार्षिक पाँच लाख बचत गर्छन् किसान मुखिया

२०८० माघ ३, बुधबार ११:०६ बजे

रौतहट : रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर –१ बिश्रामपुरका एक किसानले पाँच कट्ठा जमिन भाडामा लिएर पिरो खुर्सानीको खेती गरेर एक वर्षमा पाँच लाख बचत गर्ने गरेको बताएका छन् ।
मिहिनेत गरे आफ्नै बारीमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण रौतहटका एक किसानले पेस गरेका हुन् । पाँच कट्ठा जमिनमा खुर्सानी लगाएर वर्षको पाँच लाख आम्दानी गरेर ती किसानले उदाहरण पेस गरेका छन् । उमेरले ५५ वर्ष लागिसकेका रामकिशोर मुखिया किसानले पाँच कट्ठा जमिन भाडामा लिएर पिरो खुर्सानीको खेती गरेर एक वर्षमा पाँच लाख बचत गरेको बताएका छन् ।
मुखियाले पाँच कट्ठा जमिनमा लगाएको खुर्सानी बेचेर आफ्ना छोरालाई भारतमा कम्प्युटर इन्जिनियरिङ पढाइरहेको बताए । आफ्नो जमिन नभए पनि उनले भाडामा पाँच कट्ठा जमिन लिएर विगत पाँच वर्षदेखि खुर्सानीको खेती गर्दै आएका छन् । उनका अनुसार वार्षिक खेतको भाडा ४५ हजार तिरेर सबै खर्च कटाएर पाँच लाख बचत हुँदै आएको छ ।
वृन्दावन नगरपालिक–१ का वडासदस्यसमेत रहेका मुखियाको मुख्य पेसा नै पाँच वर्षदेखि खुर्सानी खेती हो । उनको काममा श्रीमतीले समेत सघाउँदै आएकी छिन् ।
अहिले आफ्नै बारीबाट सय किलोका दरले व्यापारीले खुर्सानी लाने गरेको उनको भनाइ छ । कात्तिकमा लगाएको खुर्सानीले चैतसम्म आम्दानी दिने र त्यसपछि सोही बारीमा अर्को तरकारी लगाउने गरेको मुखियाले बताए । खुर्सानीका अलावा पाँच कट्ठा बारीमा आफूले विभिन्न सिजनल तरकारी लगाएर आम्दानी लिने गरेको मुखियाले बताए ।