पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

क्रिप्टो करेन्सीमार्फत् २ खर्ब ८६ अर्ब ४ करोडको हुण्डी कारोबार गरेको आरोपमा १७ जनाविरुद्ध मुद्दा

२०८० माघ ९, मङ्गलवार ०८:२१ बजे

काठमाडौं : क्रिप्टो करेन्सीमार्फत् २ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको हुण्डीका कारोबार गरेको आरोपमा १७ जनाविरुद्ध मुद्दा चलाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले १७ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
नेपाल राष्ट्र बैंक अन्तर्गतको कसुर र संगठित अपराधमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । १७ जनामध्ये ५ जना पक्राउ परेका छन् । बाँकी १२ जनालाई फरार प्रतिवादी बनाइएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बागबजारका ४८ वर्षीय रुपेश श्रेष्ठ, काठमाडौं थापाथलीका ३५ वर्षीय आशिष अग्रवाल, बाग्लुङ नगरपालिका–७ घर भइ सामखुसी बस्ने ४८ वर्षीय मीनबहादुर जिसी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय झानिन्द्रप्रसाद खतिवडालाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।

बागबजार घर भइ अमेरिका बस्ने ४४ वर्षीय दीपेश श्रेष्ठ, अमेरिका नै बस्ने ४३ वर्षीय अंशुल श्रैष्ठ, बागबजारकी ४५ वर्षीय रचना शर्मा, नुवाकोटको विदुर नगरपालिका–४ का २७ वर्षीय सरद भट्टराई, धादिङको गल्छी गाउँपालिका–२ घर भएका २५ वर्षीय वीरेन्द्र मगर, भारतीय नागरिक विमल पोद्दार, दाङको बबई–६ का २४ वर्षीय बिगल सिंह शर्मा, सिन्धुलीको कमलामाई–६ का ४६ वर्षीय ओमकुमार श्रेष्ठ, स्याङ्जाको पुतलीबजार–४ का दीपश शर्मा, रामेछापको उमाकुण्ड–१ का फुन्सोक लामा, नवलपरासीको देवचुलीका ६९ वर्षीय गोविन्दप्रसाद श्रेष्ठ र रामेछापको मन्थली–१० का ५३ वर्षीय रुदे तामाङलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ ।
सीआईबीले गत मंसिर १७ गते सुरुमा बागबजारबाट रुपेश श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यतिबेला उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रूपैयाँ, अमेरिकी डलर ७ हजार २६, ल्यापटप ३ थान, सिपियु ६ थान, टेलर मेसिन १ थान, सीसीटीभी एनभीआर १ थान, मोबाइल ८ थान, राहदानी २ थान, नागरिकता १ थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद गरेको थियो ।
उनै रुपेशबाट सुरु भएको अनुसन्धानले २ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँभन्दा बढी हुण्डीको कारोबार देखिएको भन्दै १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको छ ।
श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतीय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको सिआइबीले जनाएको छ ।
प्रतिवादीहरुलाई कारोबार गरेको देखिएको रकम २ खर्ब ८४ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ बराबरीको बिगो भराउन माग दाबी गरिएको छ । सोही अनुसार सजाय समेतेको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।