पाठशाला न्यूज
 २०८१ आषाढ ७, बिहीवार    

राजनीतिमा होइन, अध्यात्ममा छ समाधान

२०८० श्रावण ३०, मङ्गलवार १९:०८ बजे

स्वामी आनन्द अरुण
१९४७ अगस्ट १५ का दिन भारत ब्रिटिस अधीनताबाट स्वतन्त्र भयो । स्वतन्त्र भारतको पहिलो राष्ट्रपति कसलाई बनाउने भनेर चर्चा हुँदा एक सच्चा देशभक्त र सबैले सम्मान गर्ने श्री औरोबिन्दोलाई राष्ट्राध्यक्षक बनिदिन आग्रह गरियो ।
पोन्डिचेरीमा त्यस समय एक साधकको जीवन बिताइरहेका श्री औरोबिन्दोले उक्त पद विनम्रतापूर्वक अस्वीकार गर्दै भने, ‘भारतको सेवा जति मैले आफ्नो ध्यान कक्षबाट गर्न सक्छु, त्यति राष्ट्रपति भवनबाट गर्न सक्दिनँ ।’ पद र कुर्सीको मोह र त्यसकै खिचातानीमा चुर्लुम्मै डुबेको आजको राजनीतिमा औरोबिन्दोको यो त्याग र विशालता एक मिथ्याजस्तो लाग्दछ ।
सन् १९६८ तिर को कुरा हो । म पटनामा इन्जिनियरिङको छात्र थिएँ । कलेज छुट्टीको समयमा मेरा साथीहरूले नजिकको भागलपुर जाने प्रस्ताव गरे । गङ्गाको किनारा मलाई अति नै प्रिय लाग्ने भएकोले तुरुन्तै भागलपुर लागियो । त्यहाँ बस्नका लागि एक होटलमा जाँदै थियौँ, त्यस होटलको रिसेप्सनमा पुग्नेबित्तिकै म अवाक् भएँ । होटलको भित्तामा दुईवटा तस्बिर झुन्ड्याइएको रहेछ । एक थियो, श्री औरोबिन्दोको र अर्को उनकी शिष्या मदरको । त्यो दिन म उहाँहरूको तस्बिर हेरेको हेरै भएँ । श्री औरोबिन्दोको आँखाबाट मैले आँखा हटाउनै सकिनँ । एक असीम आनन्दको अनुभव भयो र त्यो होटलको रिसेप्सन मेरा लागि मन्दिरजस्तै बन्यो । कहाँ भागलपुर घुम्न आएको म घन्टौँसम्म त्यही तस्बिर हेरेर रिसेस्प्सनमै बसिरहेँ । होटलको मान्छे पनि मलाई हेरेर अचम्मित थियो, तर त्यो तस्बिरले मलाई चुम्बकले जसरी तान्यो र केही भन्न खोजेजस्तो लाग्यो । त्यो क्षण मेरो र श्री औरोबिन्दोबीच एक गहिरो आध्यात्मिक सम्बन्धको बीजारोपण भयो ।
श्री औरोबिन्दोको जीवनका अन्तिम दिनतिर लिएको एक तस्बिर मेरा लागि अति नै प्रिय छ । सोफामा बसेर एक टक अगाडि हेरेको औरोबिन्दोको सो तस्बिर आज पनि मेरो शयन कक्षमा छ र हरदम मलाई प्रेरित गरिरहन्छ । गहन एकान्त र रहस्यमा डुबेका उनका आँखा, गहिरो विश्राम र साधनामा विराजमान उनको सालीन व्यक्तित्वले मलाई अनवरत साधना र एकान्तका लागि प्रेरणा प्रदान गर्दछ ।
श्री औरोबिन्दोको जन्म १५ अगस्त १८७२ मा ब्रह्ममुहूर्तको समय ४ः१५ मा भयो । सुरुदेखि नै उनलाई घरमा अंग्रेजी भाषा र सभ्यता सिकाइयो । उनका पिता डाक्टर कृष्णधन बोस बेलायतमा प्रशिक्षित डाक्टर थिए ।
पाश्चात्य संस्कृतिबाट उनी यति प्रभावित थिए कि आफ्ना सन्तानलाई बाल्यकालदेखि नै पश्चिमी शिक्षा दिन र सोही परिवेशमै हुर्काउन चाहन्थे । पाँच वर्षको उमेरमै उनलाई दार्जिलिङको लोरेटो स्कुलमा राखियो र सात वर्ष लागेपछि इंग्ल्यान्ड पठाइयो । उनले म्यान्चेस्टर र क्याम्ब्रिजको सेन्ट पाल कजेलमा १४ वर्षसम्म अध्ययन गरे । १८९२ मा उनले भारतीय नागरिक सेवा आईसीएसको सर्वोच्च परीक्षा प्रथम स्थानमा पास गरे तर भारतको स्वतन्त्रताका लागि लड्ने अग्रज व्यक्तिहरूसँग उनको राम्रो परिचय भइसकेको र राष्ट्रपे्रमको प्रबल भावना उनमा जन्मिसकेको हुनाले अंग्रेजको प्रशासक भई उनले कार्य गर्न रुचाएनन् र सो परीक्षाको अन्तिम घोडचढीको जाँचमा जानाजानी अनुपस्थित भई उक्त सेवाबाट बाहिरिए ।
बेलायत प्रवासकै बेला उनले बडोदा महाराजा गयेकवार्डलाई बेलायतमा भेटे र महाराजाले उनलाई भारत फर्की बडोदाको सेवामा प्रवेश गर्न आग्रह गरे । सन् १८९३ मा श्री औरोबिन्दो पाश्चात्य जगत्को सबैभन्दा प्रतिष्ठित शिक्षा प्राप्त गरी भारत फर्किए र बडोदा राज्यमा विभिन्न पदमा रही नौ वर्ष सेवा गरे । यही समयमा उनको भारतीय संस्कृति, योग र स्वतन्त्रता संग्रामसँग राम्रो परिचय भयो ।
१९०१ मा जब उनले आफ्नो जीवनमा एक सहधर्मीको आवश्यकताको महसुस गरे, इमानदारितापूर्वक पत्रिकामा एक सादा जीवन बिताउन र सरल पद्धतिले विवाह गर्न तयार संगिनीका लागि विज्ञापन गरे । आवेदकहरूमध्येकी १४ वर्षीया मृनालिनीदेवीसँग उनको गैरपारम्परिक साधारण ढंगले विवाह भयो ।
अति सक्रिय राजनीतिक जीवन हुँदाहुँदै पनि सञ्चित संस्कारले उनको योग र ध्यानमा रुचि बढ्दै गयो र मार्गदर्शनका लागि उनी गुरुको खोजमा लागे । सोही खोजको फलस्वरूप महाराष्ट्रका योगी विष्णुभाष्कर लेलेलाई भेटे । लेलेले औरोबिन्दोको उच्च संस्कार हेरी उनलाई आफूसँग साधनाका लागि केही समय एकान्तमा बस्न आग्रह गरे । औरोबिन्दोको सक्रिय जीवनमा त्यो सम्भव थिएन, तर उनले तीन दिनको समय निकाली लेलेसँग एकान्त साधनामा बसे । तीन दिनकै छोटो साधनामा श्री औरोबिन्दोलाई ध्यानको गहिरो अनुभूति भयो । उनले विचारशून्य चैतन्यको अनुभव गरे र उनलाई साक्षीभाव प्राप्त भयो, जुन प्राप्त गर्न साधकलाई वर्षौं लाग्छ । त्यो देखेर अति प्रभावित भई सब काम छोडी पूरा समय योग र ध्यानका लागि समय निकाल्न उनलाई लेलेले आग्रह गरे । औरोबिन्दो भने भारतलाई परतन्त्र छाडी साधनामा लाग्नुलाई पलायन मान्थे र यसका लागि उनी तयार भएनन् । व्यस्त जीवन भए पनि नियमित योग तथा ध्यानका लागि उनले समय निकाले । ध्यानकै प्रयोगमा उनलाई भित्रबाटै प्रेरणा र निर्देशनहरू आउन थाले । उनले सबै अनुभूतिहरू लेलेलाई बताए, त्यो सुनेर लेले बडो आनन्दित भए । उनले औरोबिन्दोलाई भने, ‘यदि तिमीलाई आफ्ना अन्तर्निर्देशहरूमा पूर्ण श्रद्धा छ भने अब बाहिरी गुरुको आवश्यकता छैन ।’
बङ्गाल त्यस बेला क्रान्तिकारीहरूको सक्रिय थलो थियो । त्यसमा अझ प्रभावकारी भूमिका खेल्न श्री औरोबिन्दो बडोदा छोडी १९०६ मा कोलकाता आए । जीविकाका लागि उनले बङ्गाल नेसनल कलेजमा प्रिन्सिपलको पद स्वीकार गरे तर उनको अधिकांश समय क्रान्तिकारीहरूलाई प्रेरणा दिन, संगठन र पत्रिकाहरूको सम्पादन गर्नमा बित्थ्यो ।
जेलमै १५ दिनसम्म लगातार उनले स्वामी विवेकानन्दका आवाज र स्पष्ट निर्देशनहरू सुन्न थाले, जबकि स्वामी विवेकानन्दले ६ वर्षअगाडि नै शरीर छाडिसकेका थिए । जेलजीवनमै योगको माध्यमले उनीमा अनेक सुषुप्त प्रतिभाहरूको जागरण भयो ।
सन् १९०८ मा अंग्रेज जिल्ला अधिकारी किंगस्फोर्ड परिवारको हत्या भएको बमकाण्डमा उनलाई पनि मुछियो र ५ मईमा उनी पक्राउ परी अलिपुर जेलको कालकोठरीमा थुनिए ।

शिवपुरी बाबाले भन्ने गर्थे, ‘बेलायतीहरूले जेलमा राखेर धेरै भारतीयको कल्याण गरेका छन् ।’ जेलमा नबसेका भए महात्मा गान्धीको आत्मकथा, ‘द स्टोरिज अफ माई एक्स्पेरिमेन्ट विथ ट्र्युथ’ जवाहरलाल नेहरूको आत्मकथा, ‘टुवार्ड फ्रिडम’ कहिले लेखिने थिएनन् । त्यसैगरी जेलमा नबसेका भए बाल गंगाधर तिलकले भागवत गीतामाथि आफ्नो टीका ‘गीता रहस्य’ कहिले लेख्न सक्ने थिएनन् । उनी जेलका भित्तामा चक र कोइलाका टुक्राले गीतामाथि आफ्ना टीका लेख्थे, अनि कागज पाएपछि त्यसलाई कागजमा सार्न लगाउँथे । यी तिनै पुस्तक साहित्यका उच्च कृतिहरूमा पर्दछन् । ओशोको गीतामाथि प्रवचन नपढेसम्म मलाई गंगाधारको गीता माथिको टीका ‘गीता रहस्य’ सबैभन्दा सर्वश्रेष्ठ लाग्दथ्यो ।

जेल बसाइमा लेख्न, पढ्न र साधना गर्न मनग्गे समय र एकान्त पनि पाइने हुनाले एक किसिमले जेल जीवन यी सबै उत्कृष्ट व्यक्तित्वका लागि लुकेको आशीर्वाद बनेको थियो । नेपालमा पनि सन्त नेता कृष्णप्रसाद भट्टराईले आफूले जेल बस्दा साधना र आध्यात्मिक साहित्य अध्ययन गर्न पर्याप्त समय र उपर्युक्त माहोल पाएको कुरा हामीलाई बताउँथे ।
भारतको स्वतन्त्रताका लागि पहिलो क्रान्तिकारी मुक्ति युद्धको नेतृत्व गरेका औरोबिन्दोलाई सोही घटनाका लागि ब्रिटिस सरकारले १९०८ मा जेल हाल्यो । बाहिरी क्रान्ति गर्छु भनेर हिँडेका औरोबिन्दोका लागि त्यो एक वर्षको जेल जीवन उनको भित्री रूपान्तरणको पहिलो सिँढी बन्न पुग्यो ।

कालकोठरीको त्यो प्रवास उनको साधनाका लागि वरदान साबित भयो । गीता र उपनिषद्को अध्ययन र गहन आत्मसाधनाले जेलको कोठालाई उनले साधनाको गुफामा परिणत गरे । आफूलाई एक वर्ष जेलमा राखेबापत औरोबिन्दोले अंग्रेजहरूलाई धेरै धन्यवाद दिएका छन्, किनभने त्यो एकान्त साधना बाहिर सम्भवै थिएन ।
जेलमै १५ दिनसम्म लगातार उनले स्वामी विवेकानन्दका आवाज र स्पष्ट निर्देशनहरू सुन्न थाले, जबकि स्वामी विवेकानन्दले ६ वर्षअगाडि नै शरीर छाडिसकेका थिए । जेलजीवनमै योगको माध्यमले उनीमा अनेक सुषुप्त प्रतिभाहरूको जागरण भयो । उनको जेलकोठरीअगाडि एक कदमको रूख थियो । त्यसको मुनि औरोबिन्दोलाई साक्षात् वासुदेव श्रीकृष्णको दर्शन भयो र वासुदेवले पनि अरू सबै काम छाडी अन्तःसाधनामा लाग्न आदेश दिए । औरोबिन्दोको मनमा त्यहाँ पनि भारतको स्वतन्त्रताको प्रश्न उठ्यो । वासुदेवले आश्वस्त पारे, ‘भारतको स्वतन्त्रताको जिम्मा म लिन्छु, तिमी एकान्त साधनामा लाग । एक दिन भारतको स्वतन्त्रता तिम्रो जन्मदिनको उपहार भएर आउनेछ ।
सोहीअनुरूप श्री अरोबिन्दोकै जन्म दिनको दिन १५ अगस्ट १९४७ मा भारत अंग्रेजहरूको शासनबाट आजाद भयो । जेलमा श्रीकृष्णले औरोबिन्दोलाई भने, ‘भारतको मूल समस्या भनेको राजनीतिक होइन, आध्यात्मिक हो । राजनीतिक परतन्त्रताको कारण पनि आध्यात्मिक कायरता र दरिद्रता हो ।’ श्रीकृष्णले औरोबिन्दोलाई अर्को संकेत पनि दिए — भारतको स्वतन्त्रताको राजनीतिक नेतृत्व लिन अर्को सुयोग्य नेता आउँदै छ । त्यो संकेत महात्मा गान्धीप्रति थियो । त्यसैले औरोबिन्दोले आफ्नो राजनीतिक यात्रा समाप्त भइसकेको र आफू आध्यात्मिक यात्रामा लाग्ने अठोट व्यक्त गरे । एक वर्षपछि जब उनी जेलबाट छुटे, प्रतिभाशाली, क्रान्तिकारी र कलममा आग्नेय शक्ति भएका उनी विद्रोही नेता अन्तर्मुखी योगी भइसकेका थिए ।

जेलबाट निस्किएपछि पनि औरोबिन्दोमाथि अनेक केस लगाउने अंग्रेजहरूको दाउ थियो तर अब उनी एक पल पनि साधनारहित कार्यमा व्यर्थ गर्न चाहँदैनथे । त्यही बेला उनलाई विवेकानन्दकी विदेशी शिष्या भगिनी निवेदिताको सन्देश आयो । निवेदिता एक क्रिस्चियन पादरीकी छोरी थिइन् र पछि स्वामी विवेकानन्दको शिष्या बनेकी थिइन् । उनलाई स्वामीजीको साक्षात मार्ग निर्देशन थियो । त्यही निर्देशन अनुसार उनले औरोबिन्दोलाई ब्रिटिस भारत छाड्न र साधनामा आफ्नो समय बिताउन आग्रह गरिन् । त्यस्तै आदेश औरोबिन्दोले आफैँभित्रबाट पनि पाए र उनी तत्क्षण कोलकाता छाडी चन्द्रनगर हुँदै अन्ततः ४ अप्रिल १९१० मा पोन्डिचरी आइपुगे । सही समयमा आफ्ना केही शिष्यका साथ उनले ब्रिटिस भारत छाडे र फ्रान्सेली उपनिवेशमा पर्ने पोन्डिचेरीमा गई आफ्नो पूरै समय साधनामा बिताउन थाले ।
पोन्डिचेरीमा उनका सुरुका दिन अति नै अभावयुक्त र कष्टप्रद रहे । सुरुका दिनमा उनको आश्रमको स्थिति अति विपन्न थियो । उनी तीन–चार मित्रका साथमा सानो घरमा बस्थे, जसमा निजी स्नानकक्ष पनि थिएन, सार्वजनिक धारामा सबैजना नुहाउँथे र सबै आश्रमवासीका लागि एउटै तौलिया थियो । आश्रममा एक मात्र लालटिन थियो, जसबाट सम्पूर्ण आश्रमको व्यवहार चल्थ्यो । औरोबिन्दोलाई अध्ययन गर्न प्रत्येक सन्ध्या एक मात्र मैनबत्ती प्राप्त हुन्थ्यो ।
सन् १९१२ मा आर्थिक समस्याले पिरोलिएर औरोबिन्दोले आफ्ना मित्र मोतिलाल रोयलाई एक अत्यन्त मार्मिक पत्र पठाए, जसमा लेखिएको थियो, ‘आश्रममा अहिले जम्मा आठ आना मात्र बाँकी छ र ६–७ जना आश्रित छन्, जसरी भए पनि ५० रुपैयाँ ऋण तुरुन्त पठाउनू र यो ५० रुपैयाँका लागि शारीरिक, मानसिक, आध्यात्मिक सबै शक्तिको प्रयोग गरे पनि हुन्छ । हुन त भगवानले हामीलाई हेर्छन् नै तर भगवानको अन्त्यसम्म कुराउने अत्यन्त पुरानो नराम्रो बानी छ ।’


सन् १९१४ मा फ्रान्सेली दम्पती पौल र मीरा रिचर्ड पोन्डिचरी आइपुगे । पछि उनी मीरा रिचर्ड मदरको नामले विश्वविख्यात भइन् । औरोबिन्दोलाई देख्नासाथ सानैदेखि आफ्ना अन्तर्दृष्टिमा देखिने ऋषि उनी नै हुन् भन्ने बोध मदरलाई भयो । प्रत्येक आइतबार रिचार्ड दम्पतीले आश्रमवासीलाई सन्ध्याको भोजनमा बोलाउँथे । सो एक साँझ आश्रमवासीले पेटभरि मीठो भोजन र उत्कृष्ट फ्रान्सेली वाइन खान पाउँथे ।
धेरै लामो समयसम्म औरोबिन्दो आश्रम अभावमै रह्यो । सन् १९२० मा मदर आफ्ना पतिसँग सम्बन्धविच्छेद गरी सधैँका लागि आश्रममा बस्न आइपुगिन् र आश्रमको सारा व्यवस्था आफूले लिइन् । मदरमा व्यवस्थापनको गुण थियो र बिस्तारै उनले आश्रमको समृद्धि र विस्तारमा पूरै टेवा पुर्याइन् । मदरको आगमनपछि औरोबिन्दोले आफूलाई एक कोठामा साधनाका लागि सीमित गरे । २४ नोभेम्बरलाई औरोबिन्दोको सिद्धिदिवस मनाइन्छ । सन् १९२६ को यसै दिन उनीमा अधिमानस चेतनाको अवतरण भएको थियो ।
जीवनका अन्तिम २४ वर्ष औरोबिन्दो आफ्नो कोठाबाट दर्शन दिन वर्षमा चारपटक मात्र बाहिर आउँथे । त्योबाहेकको समय उनले नितान्त व्यक्तिगत साधनमा बिताए र ५ दिसम्बर १९५० मा उनले भौतिक शरीर छाडे ।
केही महिना अगाडिको कुरा हो, म दक्षिण भारतको यात्रामा थिएँ । त्यसै क्रममा पोन्डिचेरी जाने इच्छा मनमा उठ्यो । पाँच जनाको सानो टोली लिएर हामी पोन्डिचेरी पुग्यौँ । त्यहाँ जानेबित्तिकै मलाई एक आध्यात्मिक ऊर्जाले घेरेको महसुस गरेँ । समुद्र किनारको त्यो कोठामा एक प्रगाढ उपस्थिति थियो । त्यो उपस्थिति र ऊर्जाले राति पनि घेरिरह्यो र म बाहिर बार्दलीमा मेच लगाएर घन्टौँसम्म ध्यानमा बसिरहेँ । बिहान ८ बजे औरोबिन्दोको मिठो स्मरणले मलाई पुनः घेर्यो र फेरि ध्यानमा बसेँ । औरोबिन्दोको अनन्त प्रेम र आशीर्वाद महसुस गरेँ, समय, स्थान कुनै पनि चिजको ख्याल रहेन । केहीबेरपछि आँखा खोलेर हेर्दा त १२ बजिसकेको रहेछ, मेरा मित्रहरू पनि आएर मसँगै ध्यानमा बसेका रहेछन् । त्यो चार घन्टा आशीर्वादको क्षण थियो र वर्षौं अगाडि आफ्नो तस्बिरका माध्यमबाट अवाक् पारेका औरोबिन्दोले फेरि मलाई आफ्नो नदेखिने उपस्थितिमा चुर्लुम्मै डुबाए । आज उनको जन्मदिनको दिन त्यस महान् व्यक्तित्वप्रति हृदयदेखि नै श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।