पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने : मुख्यमन्त्री केदार कार्की

२०८१ वैशाख २३, आइतवार ०७:५९ बजे

खोटाङ : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् ।
त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिने बताए । उनले पर्यटन पूर्वाधार निर्माणका आधारभूत संरचना निर्माण गर्न वडा र पालिका अग्रसर हुनुपर्ने बताए ।
कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०८०\०८१ मा विनियोजन गरेको रु एक करोड ४४ लाख ८४ हजार ४९० लगानीमा हलेसीमा हवन कुण्ड बन्दै छ । आगामी असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी काम सुरु भएको हो ।
शिलान्यासपछि खोटाङ प्रदेशसभा (१)का सदस्य पाँचकर्ण राईले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल हलेसी क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताइन् ।
हलेसी आउने दर्शनार्थीको सुविधाका लागि मन्दिर परिसरमा नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा अतिथिगृह निर्माण भइरहेको छ । निगमबाट रु दुई करोड प्राप्त भएपछि नगरपालिकाले आव २०७९\०८० मा दुई करोड ९६ लाख बजेट विनियोजन गरिएको थियो ।