पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

एआईपीएस एसियाको २५ औँ ‘कंग्रेस’ नेपालमा हुने

२०८१ वैशाख २०, बिहीवार ०७:५३ बजे

ललितपुर : एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) को २५ औँ ‘कंग्रेस’ आगामी भदौको अन्तिम साता नेपालमा हुने भएको छ ।
स्पेनको सान्ता सुसानामा बसेको एआईपीएस एसियाको बैठकमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजनाको जिम्मा पाएको हो। बैठकमा नेपाल, मलेसिया र कीर्गिस्तानले दाबी पेश गरेका थिए ।
नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि सन् २०१६ मा एआईपीएस एसियाको केन्द्रीय कार्यसमितिको वैठकको आयोजना गरेको थियो ।
नेपाललाई कंग्रेस आयोजनाको जिम्मा दिँदै एआईपीएस एसियाका अध्यक्ष दक्षिण कोरियाका हि डोङ जुङले एसियाको एक सक्रिय संस्था नेपाल खेलकुद पत्रकार मञ्चले विगतमा प्रभावकारी कार्यक्रम गर्दै आएको हुनाले ठूलो सम्मेलनको आयोजना गर्न सक्षम भएकोमा विश्वस्त रहेको बताए ।
एआइपीएस एसियाको कंग्रेस कतार, दक्षिण कोरिया, चीन, साउदी अरेविया जस्ता सक्षम राष्ट्रहरूले मात्र गरिरहेकोमा नेपालले पाएको यो पहिलो अवसर हो ।

अध्यक्ष हि डोङले थपे, ‘ एसियाली खेलकुद पत्रकारिताको दायरा सबै एसियाली मुलुकमा फैलाउन नेपाललाई यति ठूलो जिम्मेवारी दिइएको हो ।’
एआईपीएस एसियाको कंग्रेसमा ३० भन्दा बढी एसियाली राष्ट्रका खेलकुद पत्रकार उपस्थित हुनेछन्। त्यसमा अरु राष्ट्रका पत्रकार पनि सहभागी हुने बताइएको छ ।
आयोजनाको जिम्मा पाएपछि नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ले नेपाल खेलकुद पत्रकार मञ्चले यो अवसर पाउनुको पछाडि सम्पूर्ण सदस्यको मेहनत र परिश्रम रहेको बताए ।
विगतमा मञ्चले गर्दै आएका कार्यक्रम देखेर पहिलोपटक सानो सदस्य राष्ट्रलाई जिम्मेवारी दिएको भन्दै एआईपीएस एसियालाई धन्यवाद दिए । उनले नेपाली खेलकुद क्षेत्र, नेपालको पर्यटन, नेपाली खेल पत्रकारबारे एसियालाई देखाउने मौकाको रूपमा कंग्रेसको सदुपयोग गर्ने बताए ।
बैठकले अर्को वर्षको कंग्रेसको जिम्मा हङकङ स्पोर्टस् प्रेस एसोसियसनलाई दिएको छ ।