पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

चन्द्रनिगाहपुरमा सडक निर्माण कार्य गुणस्तरहीन भएको भन्दै स्थानीयको अवरोध

२०८० पौष १९, बिहीबार १२:२९ बजे

रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा सडक निर्माण कार्य गुणस्तरहीन भएको भन्दै स्थानीयले अवरोध गरेका छन् ।
बिहिवार चन्द्रनिगाहपुर–गौर सडक खण्ड बिस्तार गरी निर्माणाधिन सडक कालोपत्रेको काम गुणस्तरहिन भएको भन्दै स्थानीयले काम बन्द गराएका हुन् । नेपाल सरकार भौतिक पूर्वधार तथा यातायात मन्त्रालय, सडक विभाग , संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय ईटहरी ,सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट सो सडक निर्माणको काम भइरहेको हो । सडक निर्माणको जिम्मा पाएको आश्रय निर्माण सेवा प्रा.लिले निर्माणाधिन सडक खण्डमा प्रयोग गरिएका निर्माण सामाग्रीहरु मापदण्ड अनुसारको नभएको, पुरानै उप्किएको कालोपत्रे समेत प्रयोग गरेर धमाधम काम गरेको आरोप लगाउँदै स्थानीयले काम बन्द गराएका छन् ।
सडक कालोपत्रेका लागि आवश्यक आधारनै मापदण्ड विपरित रहेको उनीहरुको गुनासो छ । सडकको ‘बेस’ आधारका लागि आवश्यक पर्ने गिट्टी, बालुवा र माटो लगायतका विषयमा ध्यान दिनुपर्नेमा निर्माण कम्पनीले लापरवाही गरेका कारण काम बन्द गराइएको स्थानीय बताउँछन् । सो सडक दिर्घकालिन अवधारणा अन्तर्गत पर्ने भएकाले बलियो र गुणस्तरीय बनाउनु पर्ने उनीहरुको माग छ । सडक निर्माणको काम सम्झौताअनुरुप नभएको र मापदण्ड विपरित गुणस्तरहीन भएको चन्द्रपुर नगरपालिका–६ का वडा अध्यक्ष सहदेव के.सीले बताए ।
१७ सय मिटर दुरीको उक्त सडक निर्माणका लागि १३ करोड ९३ लाख ६७ हजार ६४९ रुपैँयामा सम्झौता भएको हो । सम्झौतामा २०७९ माघ ४ गतेबाट काम गरी २०८१ माघ ३ गते सम्म सम्पन्न गर्नु पर्ने उल्लेख छ । तर आश्रय निर्माण सेवा प्रा.लिले सडक निर्माणमा प्रयोग गरेको सामाग्री र कार्यप्रति चन्द्रपुर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा (सुरेन ) ले असन्तुष्टि व्यक्त गरेका छन् ।
त्यस्तै निर्माणको जिम्मा पाएको आश्रय निर्माण सेवा प्रा.लिले सडक निर्माणका लागि ल्याएको सामाग्री त्यहीँ प्रयोग नगरी अन्यत्रै बिक्री गर्ने गरेको स्थानीयको आरोप छ । सडक निर्माणको नाममा उत्खनन् गरिएका नदिजन्य सामग्री अन्यत्र बिक्रीवितरण गर्न नपाइने कानुनी प्रावधान छ । तर सो निर्माण कम्पनीले खुल्लमखुल्ला त्यस्ता गतिविधि गरिरहेको र गैरकानुनी कार्य गर्ने त्यस्ता कम्पनीलाई कारबाही गरिनुपर्ने स्थानीयको आरोप छ ।