पाठशाला न्यूज
 २०८१ आषाढ ७, बिहीवार    

किन गरिन्छ सुन तस्करी ?

२०८० श्रावण २२, सोमवार १०:०७ बजे

हेमन्त मल्ल ठकुरी

केही दिन पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको र भन्सार जाँचपास पनि भइसकेर बाहिरिएको करिब एक क्विन्टल सुन विमानस्थल बाहिरबाट बरामद भएपछि सुन तस्करी अहिलेको सबैभन्दा गरमागरम विषय बन्नपुगेको छ। राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुन तस्करीको भएको पुष्टि भइसकेको छ र अहिले विभिन्न कोणबाट यसमाथि अनुसन्धान भइरहेको छ। नेपालमा सुन तस्करी अहिले मात्र होइन, धेरै पहिलेदेखि हुँदै आएको छ। तर अहिलेसम्म पनि हल हुन नसकेको प्रश्न के हो भने सुन तस्करी आखिर के का लागि गरिन्छ ?
सुन तस्करी विभिन्न कारणले हुने गर्दछ। तस्करीका आफ्नै कारण हुन्छन् । कारणहरू ठाउँ र क्षेत्र, अनि विशिष्ट सन्दर्भ र परिस्थितिहरूमा निर्भर हुन्छन् । र यसमा सबभन्दा महत्त्वपूर्ण पक्षचाहिँ सुन तस्करीलाई प्रवर्द्धन गर्ने केही कारणहरू हुने गर्दछन् । कहीँ राज्यका निकायहरूले बेहोरिरहेको स्रोत र साधनको कमीका कारण, कहीँ कार्यक्षमता नै कमजोर भएका जनशक्ति (कर्मचारी) का कारण त कहीँचाहिँ भ्रष्ट राजनीतिक वृत्त र कर्मचारीतन्त्रका कारण सुन तस्करी हुने गर्दछ।
तस्करीको खास कारण भने यसको माग र आपूर्तिसँग जोडिएको हुन्छ । यदि कुनै वस्तुको माग छ भने स्वाभाविक छ, कुनै न कुनै रूप र तरिकाले मालसामान आउँछ नै। त्यो अवस्थामा राज्यको दायित्व के हो भने यसलाई पूर्ण रूपमा रोक्न नसके पनि आफ्नो कार्यक्षमताले भ्याएसम्म नियन्त्रण गर्ने हो। नेपाल जस्तो देशमा चाहिँ के गर्ने त ?
जगजाहेर छ, यहाँ तस्करीलाई राजनीतिक दल र सरकारले नै प्राथमिकता दिन्छन्। घोषित नीति जेसुकै भए पनि उनीहरूका क्रियाकलाप तस्करी बढाउन सहयोगी बनिरहेका छन्। त्यसको उदाहरण सुपारी, केराउ, पोस्तादाना, ल्वाङ लगायतका वस्तुको आयातले देखाउँछ । जहाँ राजनीतिमा भ्रष्टाचारले जरा गाडेको छ, त्यहाँ तस्करी खुलेआम हुन्छ । यहाँ हामी सुन तस्करी किन हुन्छ भन्नेबारे केही मूलभूत कारणहरूबारे चर्चा गर्ने छौँ ।
कर र शुल्क
सुन तस्करीको प्रमुख कारण विभिन्न मुलुकहरु बीचको कर र आयात शुल्कमा रहेको भिन्नता हो । केही देशहरूले आफ्नो (घरेलु) सुन उद्योगलाई जोगाउन वा यसको प्रवाहलाई नियमन गर्न सुनमा उच्च कर वा आयात शुल्क लगाउँछन्। त्यसले मूल्य असमानता निम्त्याउँछ । अवैध रूपमा सुन भित्र्याएर नाफा कमाउनका लागि तस्करहरूले मूल्यको यो अन्तरलाई दुरुपयोग गर्छन् ।
लाभ कमाउने उद्देश्य
भिन्नाभिन्नै आर्थिक अवस्था भएका देशहरूबीचको मूल्यमा हुने भिन्नताका कारण पनि सुनको तस्करी फाइदाजनक हुने गर्छ। तस्करहरूले एक देशमा कम मूल्यमा सुन किन्छन् र अर्को देशमा उच्च मूल्यमा बेच्छन् । यसरी नाफाको मार्जिन ठूलो हुने हुँदा तस्करहरूले सजिलै नाफा कमाउँछन् ।
बजारमा अनियन्त्रित माग
केही देशहरूमा सुनको माग उच्च छ । राष्ट्रका अरू थुप्रै प्राथमिकता हुने हुँदा अभाव भए पनि सरकारले सुनको भए जति माग पूरा गर्दै सक्दैनन्। यही अवस्थाको फाइदा उठाएर तस्करहरूले अवैध तवरबाट सुन आपूर्ति गर्छन्। यसकारण पनि सुनको तस्करी हुने गर्छ ।
नियम र प्रक्रियाको झन्झट
जब कानूनी रूपमा सुन आयात गर्न नियमहरू बाधक हुन्छन्, प्रक्रियाहरू झन्झटिला हुन्छन् र यो सबमा लामो समय लाग्ने हुन्छ, तस्करहरूले त्यो अवस्थाको सदुपयोग गर्छन्। समय र पैसा बचत हुने हुँदा तस्करीबाट आपूर्ति गरेर लाभ लिन बजार पनि अग्रसर हुन्छ । तस्करहरूले त्यही अवस्थाबाट लाभ उठाउँछन् ।

राजनीतिक र आर्थिक अस्थिरता
कुनै पनि मुलुकमा राजनीतिक वा आर्थिक अस्थिरता पैदा भयो भने त्यहाँका नागरिकले सुनमा लगानी गर्न थाल्छन्। तर सुन आपूर्ति त्यो अनुसार भइरहेको हुँदैन। त्यसका लागि तस्करीको सुनको सहारा लिइन्छ। अस्थिरताको बेला सुनमा लगानी गर्ने क्रम किन पनि बढ्छ भने सुनलाई प्रायः अनिश्चित समयमा सुरक्षित लगानीको रूपमा लिइन्छ ।
पैसामा भर नहुँदा
भारतमा पहिलो पटक एक हजार र पाँच सय दरका नोटहरू सरकारले खारेज ग¥यो। हालसालै दुई हजारको नोटलाई पनि सरकारले खारेज गरिएको छ। यस्तो अवस्थामा गैरकानूनी रूपमा धन आर्जन गरेकाहरूले पैसाको सट्टा सुनमा विश्वास गर्न थाल्छन् । अनि सुन किनेर जम्मा पार्न थाल्छन्। यसले पनि सुन तस्करी बढाउँछ ।
कमजोर सीमा नियन्त्रण
जुन मुलुकको अन्तर्राष्ट्रिय सीमा नियमन कमजोर हुन्छ, जुन मुलुकको कर्मचारीतन्त्र भ्रष्ट हुन्छ, त्यहाँ नै तस्करले धेरै फाइदा उठाउन खोज्छन्। किनभने यस्तो अवस्थामै उनीहरु फैलिन पाउँछन्। अनि तस्करहरूले सजिलै सुनको तस्करी गर्न थाल्छन् । यसको कारणबाट तस्करी गरेर सुन भित्र्याउन मात्र होइन, भित्र्याएर सजिलै अर्को राष्ट्रमा पठाउन पनि सजिलो हुने गर्छ ।
भ्रष्टाचार
जुन देशमा भ्रष्टाचार व्यापक छ, सत्तामा भ्रष्ट, दलाल र बिचौलियाको हालीमुहाली छ, त्यहाँ तस्करहरूले सजिलै पहुँच बनाउन सक्छन् । ती तस्करहरूले पैसाको बलमा भन्सार जस्ता संवेदनशील ठाउँहरूमा खटिएका कर्मचारीदेखि सुरक्षा निकायका अधिकारीसम्म पहुँच बनाउँछन्। अनि यसरी बनेको ‘सेटिङ’मार्फत तस्करीको जालो बलियो बनाउँछन् ।
नाकामा खटिने निकायबीच समन्वय अभाव
सुन तस्करहरूका नजर थुप्रै कुरामा हुन्छ। अन्तर्राष्ट्रिय नाकादेखि विमानस्थलसम्म खटिएका निकायहरू त्यसमै पर्छन् । यदि ती ठाउँमा खटिएका सरकारी निकायहरूका बीचमा समन्वय छैन भने उनीहरूलाई आफ्नो काम फत्ते गर्न थप अनुकूलता मिल्छ ।
कमजोर अनुसन्धान पद्धति
यदि अनुसन्धानको अख्तियारी पाएका निकायको अनुसन्धान पद्धति कमजोर छ, सुन तस्करी लगायतका अपराध नियन्त्रणको जिम्मा पाएका जिम्मेवार निकायमा त्यस्तो अनुसन्धान गर्ने कार्यक्षमता छैन र अपराधको प्रकृति बुझ्ने सामर्थ्य पनि छैन भने त्यो अवस्था तस्करहरूका लागि उर्वर बन्छ। संगठित अपराधकर्ममा संलग्न रहेका व्यक्तिसम्म राज्यका निकायको अनुसन्धान पुग्नै सक्दैन भनेर आकलन गर्न सक्ने स्थिति भयो भने त्यो अवस्थामा तस्करहरू आफूलाई सुरक्षित ठान्छन्। परिणाम यस्तो अपराधलाई निरन्तरता दिन्छन् ।
के सुन तस्करी नियन्त्रण हाम्रो प्राथमिकतामा छ ?
तस्करी भन्नबित्तिकै त्यो स्वतः गैरकानूनी हुन्छ । धेरै देशमा सुनको तस्करी ठूलो टाउको दुखाइ बनेको छ । सुन तस्करीले अर्थव्यवस्था र सुरक्षामा गम्भीर नकारात्मक प्रभावहरू जन्माउँछ । जस्तो, यसबाट संगठित अपराधमा संलग्नहरूको हालीमुहाली बढ्छ। विदेशी मुद्राको दुरुपयोग र समाजमा अपराधीकरणलाई प्रोत्साहन मिल्छ। अन्तर्राष्ट्रिय सीमा नाकामा तस्करी राज बढ्दै जाँदा सरकार र सम्बन्धित निकायहरूले कडा कानून तर्जुमा गरेर लागु गर्छन्। नाकाहरूमा प्रविधिको प्रयोग गरेर निगरानी चुस्त पार्छन्। सरकारका निकायहरूबीच समन्वय बढाएर तथा अन्तर्राष्ट्रिय सहयोगद्वारा समेत सुन तस्करीविरुद्ध लड्ने काम गर्छन्।

तर नेपाल यो लडाइँमा कति सक्षम छ त? के कार्यक्षमता भएका र विषय बुझ्ने कर्मचारीले यो जिम्मेवारीमा प्राथमिकता पाएका छन्? सुन तस्करी नियन्त्रण सरकारी निकायको प्राथमिकतामा परेको छ? सुन तस्करी नियन्त्रणमा सरकारी निकायहरूबीच आवश्यक समन्वय भएको छ? मेरो विचारमा छैन। अहिले पनि दुई–चार दिन होहल्ला हुने छ र त्यसपछि समयचक्र आफ्नो हिसाबले चलिरहने छ। किनभने यो मान्यता तोडिने कुनै संकेत परसम्म पनि देखिँदैन ।