पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

चीनसँग परम्परागत १४ नाका तत्काल सुरु गर्ने सहमती

२०८० चैत्र १४, बुधवार ०९:५७ बजे

काठमाडौं : चीनले नेपालसँग सिमा जोडिएका तातोपानी, कोरला सहित परम्परागत १४ नाका तक्काल सुरु गर्नेमा सहमती जनाएको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र उनका चिनियाँ समकक्षी वाङ यीबीच मंगलबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा उक्त सहमति भएको हो । बेइजिङस्थित स्टेट गेस्ट हाउसमा भएको भेटमा चीनले सीमासँगै बीआरआई र अन्य नेपाल चीनसँग जोडिएका परियोजनाहरुलाई प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता समेत जनाएको छ ।
प्रतिनिधिमण्डलस्तरमा भएको उक्त वार्तामा नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई तुरुन्त सञ्चालनमा ल्याउने समझदारी भएको श्रेष्ठको सचिवालयले जनाएको छ । भेटमा चिनियाँ विदेशमन्त्री वाङले विभिन्न प्रयोजनका लागि चीन आउने नेपाली नागरिकलाई प्रवेशाज्ञा (भिसा) निःशुल्क गर्न चीन सकारात्मक भएको जानकारी गराएका थिए ।
नेपाल–चीन अन्तरदेशीय प्रसारण निर्माणलाई छिटो अघि बढाउने तथा यसअघि सचिवस्तरमा रहेको उच्चस्तरीय परामर्श संयन्त्रलाई मन्त्रीस्तरीय बनाउने सहमति भएको छ । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने समझदारी भएको बैठकपछि जानकारी दिइयो ।
संयुक्त सीमा निरीक्षण टोलीले काम थाल्नेलगायतका विषयमा पनि दुवै पक्षबीच समझदारी बनेको छ । दुई पक्षबीच नेपालमा कृषि प्रविधि उद्यान निर्माणको प्रक्रिया छिटो अघि बढाउने तथा विकासका योजनाका बारेमा ठोस प्रस्ताव लिएर अघि बढ्ने समझदारी भएको छ ।