पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

अर्थतन्त्रका बाह्य परिसूचक बलियो अवस्थामा पुग्दा आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत

२०८० कार्तिक २५, शनिवार ०८:२८ बजे

काठमाडौं :अर्थतन्त्रका बाह्य परिसूचक बलियो अवस्थामा पुग्दा आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत देखिएको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले शुक्रबार चालु आर्थिक वर्ष २०८०\८१ को प्रथम ३ महिनाको तथ्यांक प्रकाशित गरेको छ, जसले बाह्य परिसूचक बलियो अवस्थामा पुगेको छ भने आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ ।
खागसरी असोज महिनामा आयात बढेसँगै सरकारको राजस्वमा वृद्धि भएको छ भने निजी क्षेत्रमा कर्जा प्रवाह उल्लेख्य रुपमा वृद्धि भएको छ । यसले आर्थिक गतिविधि केही चलायमान बनेको तथ्यांकले दखाउँछ । असोजको तथ्यांकले आन्तरिक अर्थतन्त्रका सुधारको संकेत देखिएको राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख डा.प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

 असोजमा १ खर्ब ४८ अर्बभन्दा बढीको आयात भएको छ । यो कुनै एक महिनामा भएको आयात १५ महिना यताकै उच्च हो । २०७९ असारमा १ खर्ब ५७ अर्ब भन्दा बढीको आयात भएको थियो । गत आर्थिक वर्षको कुनै पनि महिनामा आयातले उक्त तथ्यांक पार गर्न सकेन । यो आर्थिक वर्षमा दशैं र तिहारको मुखमा असोजमा १ खर्ब ४८ अर्बको आयात भयो । आयात बढ्नु सकारात्मक होइन ।
तर नेपाली अर्थतन्त्रको संरचना नै आयातमा आधारित भएकाले आन्तरिक आर्थिक गतिविधि बढ्न मात्र होइन, सरकारको राजस्व समेत आयातमै निर्भर छ । आयातमा कडाइ गरेका कारण आर्थिक वर्ष २०७९÷८० मा अघिल्लो आवको तुलनामा राजस्व घट्यो । आयात खुकुलो बनाउँदा पनि चालु आर्थिक वर्षको साउन र भदौमा राजस्व बढ्न सकेन, बरु गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको थियो । असोजमा भने गत वर्षको तुलनामा राजस्व भएको छ ।
गत आर्थिक वर्ष २०७९\८० को प्रथम त्रैमासमा राजस्वमा अघिल्लो वर्षको तुलनामा १८.२ प्रतिशतले गिरावट आएको थियो । तर, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सरकारको राजस्व ५ प्रतिशतले वृद्धि भएर २ खर्ब १९ अर्ब १२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ऋणात्मक वृद्धि भएको सरकारको राजस्व असोजमा ५ प्रतिशतको वृद्धि हुनु सकारत्मक संकेत भएको आर्थिक अनुसन्धान विभाग प्रमुख डा. श्रेष्ठ बताउँछन् ।

‘निर्यात पनि कात्तिकबाट गत वर्षको तुलनामा सकारात्मक हुने अवस्था देखिन्छ । असोजमा नै सोयाबिन तेल र पाम तेल हटाएर हेर्दा निर्यात २०÷२१ प्रतिशतले वृद्धि भएको देखिन्छ,’ उनले भने, ‘निर्यातमा नेपालको परम्परागत गार्मेन्ट, गलैचा, अलैचिका साथै फलामजन्य वस्तुको पनि योगदान देखिन्छ ।’

निजी क्षेत्रमा प्रवाह हुने कर्जा पनि असोजमा उल्लेख्य रुपमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा १ खर्ब ९ अर्ब ३ करोडले बढेको छ । जुन गत असार मसान्तको तुलनामा २.३ प्रतिशतले वृद्धि भएको हो । गत अर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ५९ अर्ब ११ करोड मात्रै बढेको थियो ।

‘तथ्यांकहरुले आन्तरीक अर्थतन्त्रमा केही सुधार भएको देखाउँछ’ राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. श्रेष्ठ भन्छन्, ‘क्षेत्रगत रुपमा प्रायः सबै क्षेत्रमा कर्जा बढेको देखिन्छ । मार्जिन प्रकृतिको सेयर धितो कर्जा, आवासीय घर कर्जामा राम्रो वृद्धि देखिन्छ ।’

यद्यपि यो अवधिमा दशैं र तिहार जस्ता ठुला चाडपर्व परेकाले अहिले देखिएको सुधारले भोलिका दिनमा निररन्तता पाउनेमा भने शंका छ ।

पूर्वअर्थसचिव शिशिर ढुंगाना आयात बढ्दा जुनसुकै कारणले भएपनि यसले विस्तारै आर्थिक गतिविधि बढाउने भएकाले आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत भन्न सकिने बताउँछन् । पूँजीगत वस्तुकै आयात वृद्धि भएको छ भने त्यसले पक्कै पनि अर्थतन्त्र सुधार हुँदैछ भन्ने देखिने उनले बताए । तर, अन्य वस्तुकै आयात बढेको भएपनि त्यसले आर्थिक गतिविधि बढाउने भएकोले त्यसले अर्थतन्त्रमा सुधारको संकेत देखिएको भन्न सकिन्छ ।

कर्जा प्रवाहमा वृद्धि हुँदा त्यसले अर्थतन्त्रलाई केही सकारात्मक प्रभाव पर्ने भएकोले निजी क्षेत्रमा कर्जा प्रवाह बढ्दा पनि त्यसलाई सुधारको संकेत भन्न सकिन्छ । ‘निजी क्षेत्रको कर्जा पनि आवाशिय घर कर्जामा वृद्धि भएको देखिन्छ । त्यसले पलामको उत्पादनको माग बढ्न लगायत अन्य माग बढाउँछ’ उनले भने, ‘पुर्ण रुपमा सुधार हुँदै छ कि छैन भनेर चाडपर्व पछिको तथ्यांकलाई ध्यान दिनुपर्छ । तर, चाडपर्वमा नै बढेको आयात भएपनि त्यसले आर्थिक गतिविधि बढाउँछ ।’

विगतमा लगातार आयात भइरहेन भएपनि पल्लिो समय व्यवसायिको स्टक आउन भएर पनि आयात बढेको हुनसक्ने उनले बताए । तर, कर्जा विस्तार, आयात वृद्धि, लगायतलाई हर्दो मान्छेको हातमा पैसा छ र खर्च गर्न तयार छन् भन्ने देखिएको उनले बताए ।