पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

युएईलाई ८ विकेटले पराजित गर्दै सानदार जितका साथ नेपालले टि २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्यो

२०८० कार्तिक १७, शुक्रवार १७:२९ बजे

काठमाण्डौं- नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै १० वर्षपछि २०२४ मा हुने टि२० विश्वकपमा पुगेको छ । नेपालले दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो ।

नेपालले २०१४ मा बंगलादेशमा भएको टि२० विश्वकपमा डेब्यू गरेको थियो । त्यो विश्वकपमा नेपालले हङकङलाई र अफगानिस्तानलाई हराएको थियो । नेपाल बंगलादेशसँग पराजित हुँदै सुपर १० मा पुगेको थिएन । नेपाल २०१६ को टि२० विश्वकपको लागि २०१५ को ग्लोबल छनोटबाट नै बाहिरिएको थियो ।

त्यसपछि आइसिसीले टि२० विश्वकप चार वर्षमा गर्ने जनाएको थियो । २०१९ को एसिया क्षेत्र छनोटबाटै नेपाल बाहिरिएको थियो । त्यसैले नेपालले २०२१ मा युएई र ओमानमा भएको विश्वकप खेल्न पाएको थिएन ।

२०२२ मा अष्ट्रेलियामा भएको टि२० विश्वकपको लागि नेपाल ग्लोबल छनोट ए बाट बाहिरएको थियो । त्यो समय नेपाल युएईसँग सेमिफाइनलमा ६८ रनले हारेपछी विश्वकप खेल्न पाएको थिएन ।

उता अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ । यस खेलको फाईनल उपाधिको लागि आइतबार ओमान र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।