पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

काठमाडौं महानगरले सार्वजनिक स्थलमा डस्टबिन राख्ने

२०८० माघ २५, बिहीवार १५:३० बजे

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर भित्रका सार्वजनिक स्थलमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न मिल्ने झण्डै २ हजार सेट डस्टबिन (फोहोर दानी) राख्ने भएको छ ।
सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९५० सेट फोहोर दानी राखिने महानगरपालिकाले जनाएको छ ।
फोहोर दानीको एउटा सेटमा २ वटा बिन (भाँडो) हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो । उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले बताए ।
‘स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ । महानगरपालिका सबै ठाउँमा एकै पटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकोले नमूनाका रुपमा हामीले वडा २७ बाट वर्गीकरण भएको फोहोर मात्र संकलन गर्न लागेका छौँ,’ श्रेष्ठले भने ।

यसका लागि घरदैलो कार्यक्रममार्फत् उत्पादकलाई वर्गीकरण विधिमा सचेत गराइने श्रेष्ठले जानकारी दिए । छुट्टिएको फोहोर छुट्टाछुट्टै संकलन गर्न रङ्ग संकेतसहितको सवारी साधन तयारी गरिसकिएको पनि उनले बताए । ‘घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागेका हौँ,’ उनले भने ।
यसरी राखिने सेटहरु २ प्रकारका छन् । पहिलो खाले सेट सानो आकारको हो । यसमा राखिने एउटा विनको क्षमता ७० लिटरको हुनेछ । १.२ मिटर उचाइ, १.२३ मिटर चौडाइ र २५.५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् । यसमा राखिने स्ट्याण्डको मुल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रति गोटा मुल्य २ हजार ९५० रुपैयाँ हो । यस्ता बिन ३ सय सेट राखिनेछन् ।
मध्यम आकारका सेटमा १.३ मिटर चौडाइ र १.४ मिटर उचाइ भएको स्ट्याण्ड हुनेछ । १२५ लिटर क्षमताका २ वटा बिन राखिनेछन् । यसमा प्रयोग हुने स्ट्याण्डको मुल्य ५ हजार ४५० रुपैयाँ र बिनको मुल्य ३ हजार ८९० रुपैयाँ हो । विभागकाअनुसार यो मुल्य कर बाहेकको हो । खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेका छन् । बिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिने छ । यी सेटहरु वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरुको जिम्मामा राखिनेछ । हरेक सेटमा नम्बर दिइएको छ । यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुने महानगरले जनाएको छ ।