पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

आज कार्तिक शुल्क पूर्णिमा

२०८० मंसिर ११, सोमबार १२:५७ बजे

काठमाडौं : कार्तिक शुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा पञ्चाङ्गमा सोमबार १९ घडी ३० पला अर्थात् दिउँसो २ बजेर २३ मिनेटसम्म पूर्णिमा तिथि रहेको उल्लेख छ ।
चतुर्मास पूरा हुने दिनको रूपमा यसको महत्त्व छ । वैष्णव परम्पराअनुसार आषाढ शुक्ल एकादशीमा शुरु भएको चतुर्मास यसै दिन सम्पन्न हुन्छ । कार्तिक कृष्णपक्षमा शुरु भएको कार्तिकस्नान पनि यसै दिन समापन हुन्छ । कार्तिक शुक्ल एकादशीमा लागेको भीष्मपञ्चक पनि यही पूर्णिमामै पूरा हुन्छ ।
भगवान् शिवले यसैदिन त्रिपुरासुर नामक दानवको अन्त्य गरेको पुराणमा उल्लेख छ । यसैले यो दिनलाई त्रिपुरी पूर्णिमा पनि भनिन्छ । यो दिन पवित्र नदी तलाउमा स्नान गर्ने र चन्द्रमा उदय भएपछि साँझ शिवजीको पूजा गर्ने विधान छ । शिवा, संभूति, संतति, प्रीति, अनुसूया र क्षमा नामका कृतिकाको पूजा गर्ने विधान पनि पुराणमा छ । कात्तिके पूर्णिमाका अवसरमा सुनसरीको धरानस्थित बराहक्षेत्र, खोटाङको बराहपोखरी र डोटीको शैलेश्वरीजाँतमा धार्मिक मेला लाग्छ । काठमाडौं उपत्यकामा लागेको चार नारायणको मेला पनि सोमबार नै पूरा हुँदैछ ।
यो पूर्णिमा लाई नेपाल भाषामा ‘सकिमन पून्हि’ भनिन्छ ।