पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

नयाँ निर्वाचन भए पछि कुवेतका प्रधानमन्त्रीले दिए पदबाट राजिनामा

२०८० चैत्र २६, सोमबार ०६:४९ बजे

कुवेत सिटी- कुवेतका प्रधानमन्त्री शेख मोहम्मद सबाह अल–सलम अल–सबाहले पदबाट राजिनामा दिएका छन् ।

उनले अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहलाई आफ्नो मन्त्रिपरिषद्को राजीनामा बुझाएको सरकारी समाचार संस्था कुनाले जनाएको छ । 

गत बिहीबार नयाँ संसदको निर्वाचन भए पछि उनले यो राजीनामा दिएका हुन्।

राष्ट्रियसभाको प्रत्येक कार्यकालको सुरुमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था संविधानको धारा ५७ ले गरे बमोजिम वर्तमान सरकारले व्यवस्थापिकाको उद्घाटन अघि नै राजीनामा बुझाउनु पर्नेछ ।

आफ्नो राजीनामा अघि शनिबारको विशेष मन्त्रिपरिषद् बैठकमा १८ अप्रिलमा राष्ट्रिय सभालाई पहिलो नियमित अधिवेशन बोलाउन आह्वान गर्ने कानूनको मस्यौदा स्वीकृत गरेको पनि कुनाले जनाएको छ ।

बैठकमा प्रधानमन्त्रीले अमिरको नेतृत्व र समर्थनका लागि मन्त्रिपरिषद्को तर्फबाट कृतज्ञता व्यक्त गर्दै राजीनामाले संवैधानिक दिशानिर्देश र लोकतान्त्रिक प्रक्रियाप्रति सरकारको प्रतिबद्धता झल्काउने प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतका मतदाताले बिहीबारदेखि मतदान सुरु भएको थियो । भोलिपल्ट भएको मतगणना अनुसार २०० उम्मेदवारको समूहबाट एक महिलासहित ५० जना सांसद चयन भएका छन् ।