पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

शालिन पोखरेलको मृत्यु घटनामा छानबिनको माग गर्दै प्रदर्शन गर्ने नेविसंघका सातजना नेताहरु पक्राउ

२०८० फाल्गुन १८, शुक्रबार १९:०४ बजे

काठमाडौं : चितवनकी १३ वर्षीया बालिका शालिन पोखरेलको मृत्यु घटनामा छानबिनको माग गरेर प्रदर्शन गर्ने नेविसंघका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गर्न पुगेका नेविसंघका सातजना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्यहरू वासुदेव नेउपाने, विवेक लामिछाने र पूजा फुयाल छन् । यसैगरी नेविसंघका सुदीप ढुंगाना, मोहन कालाथोकी, सन्तोष आचार्य र मोहम्मद अल्ताफ नेपाली पनि पक्राउ परेका छन् । उनीहरूलाई पक्राउ गरेर तीनकुने लगिएको छ ।
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयको कक्षा ८ मा पढ्ने १३ वर्षीया शालिन फागुन १२ मा विद्यालयकै होस्टेलको कोठामा मृत भेटिएकी थिइन् । शालिनको परिवारले उनी झुन्डिएको नभई बलात्कारपछि झुन्ड्याएर हत्या गरेको आरोप लगाउँदै आएको छ ।