पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर,यस्तो छ कार्यक्रम

२०८० पौष १९, बिहीबार १०:३३ बजे

काठमाडौं : नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहीबार बिहान उनी काठमाडौं आइपुगेका हुन् ।
विमानस्थलमा उनको स्वागतका निम्ति परराष्ट्रमन्त्री एनपी साउद समेत पुगेका थिए । संयुक्त आयोगको बैठक आजै सुरु हुनेछ ।
बिहीबार बिहान ११ बजे विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुनेछ ।
राष्ट्रपतिलाई भेटेर बाहिरिएपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मध्याह्न १२ बजे शिष्टाचार भेटवार्ता गर्नेछन् । भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ ।
दिउँसो १ बजे उनी नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दरबारमार्गथित होटेल याक एन्ड यती जाने कार्यक्रम छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री साउद र भारतको नेतृत्व जयशंकरले गर्नेछन् । बैठकमा सहभागी हुनुअघि उनले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गर्नेछन् ।
आजै दिउँसो १ः४५ बजे नेपाल र भारतबीच विद्युत् र आर्थिक सहयातासम्बन्धी दुई सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । दुई देशका विदेशमन्त्रीको उपस्थितिमा हस्ताक्षर कार्यक्रम हुनेछ ।
दिउँसो २ बजे जयशंकर उनको सम्मानमा परराष्ट्रमन्त्री साउदले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । साँझ साढे ६ बजे उनी विदेशमन्त्रीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।
शुक्रबार बिहान साढे ९ बजे जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । उनी शुक्रबार मध्याह्न साढे १२ बजे भारत फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।