पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुल विजयी

२०८१ बैशाख १०, सोमबार ०८:४४ बजे

काठमाडौं- इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । 

लिगमा ३३ खेल सकिँदा आर्सनल र लिभरपुल दुवैले ७४ अंक बनाएका छन् भने एक खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ ।

फुलह्यामको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई ३-१ ले हरायो । खेलको ३२औं मिनेटमा ट्रेन्ट अलेक्सान्दर आर्नोल्डले लिभरपुललाई आग्रता दिलाएका थिए । तर, इञ्ज्युरी समयमा टिमोटी कास्टाग्नेले गोल गर्दै पहिलो हाफअघि खेल बराबरीमा पुर्‍याए । 

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलका लागि ५३औं मिनेटमा रायन ग्राभेनबर्च र ७२औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई उपाधिको होडमा मजबुत बनाए ।

अर्को खेलमा आर्सनलले उल्भ्सलाई २-० ले पराजित गर्‍यो । लियनार्दो ट्रोसार्डले ४५औं मिनेटमा र मार्टिन ओडेगार्डले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दा आर्सनल विजयी भयो ।