पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

मधेस प्रदेशको आठ जिल्लामै लम्पी स्किन रोगको संक्रमण

२०८० श्रावण १५, सोमवार १९:४७ बजे

काठमाडौँ–लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा हालसम्म दुई हजारभन्दा बढी पशुहरुको मृत्यु भएको तथ्यांकले देखाएको छ ।
खडेरीको चपेटामा परेको मधेस प्रदेशको आठ वटै जिल्लामा यस रोगका कारण गाईबस्तुको धेरै क्षति भएपछि किसान मर्कामा परेका हुन् । मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी १ हजार १ सय १८ गाई, भैँसीसहितका पशुको मृत्यु भएको हो भने पर्सामा सबैभन्दा कम दुई पशुको मृत्युसहित मधेस प्रदेशमा हालसम्म यो रोगबाट २ हजार २५ पशुको मृत्यु भएको छ ।
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु अधिकृत डा.रञ्जितकुमार अधिकारीले मधेस प्रदेशका आठवटै जिल्लाहरुमा हालसम्म ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइसकेको जानकारी दिए ।
सोमबार लम्पी स्किन रोगविरुद्वको खोप अभियानलाई जनकपुुरधामस्थित सीताराम गाई गौशालामा उद्घाटन गर्दै मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस सरकारले आठवटै जिल्लामा आठ\आठ हजारको दरले कुल ६४ हजार खोप पठाएको बताए ।

मन्त्री न्यौपानेले यो समस्या पहिलादेखि नै भएपनि अहिले भयावह भएको बताउँदै यस्ता समस्याहरु दीर्घकालीन रुपमा समाधान गर्न सरकारले पहल गर्ने बताए ।
लम्पी स्किनका कारण सबैभन्दा बढी गाई/गोरुको मृत्यु भएको देखिन्छ । मधेस प्रदेशमा मृत्यु भएका २ हजार २५ पशुमा भैँसी/राँगा छन् भने २ हजार १९ वटा गाई\गोरुको मृत्यु भएको छ ।