पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

चन्द्रपुर नगरपालिकालाई मेयर र मण्डलले भताभुङ्ग बनाए- वडा अध्यक्ष देवकोटा

२०८१ वैशाख २३, आइतवार १६:२० बजे

दिपु मिश्र 

रौतहट- चन्द्रपुर नगरपालिकाको वडा नं ३का वडा अध्यक्ष बोधनाथ देवकोटा (रवि)ले आफ्नो वडाको श्री जनशक्ति मा.वि गैडाटारको पठनपाठन नगरपालिकाका जिम्मेवार जनप्रतिनिधि र नगर शिक्षा अधिकारीको लापरवाहीले प्रभावित भएको बताएका छन्। 

मेयर सञ्जय काफ्ले र नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलले आफ्नो व्यक्तिगत स्वार्थपुरा गर्न लाग्दा सिङ्गो नगरपालिकालाई भताभुङ्ग पारेको प्रतिक्रिया दिएका छन्।

नगरले उक्त बिद्यालयमा आवश्यक रहेको मा.वि स्तरको शिक्षकको परिपुर्ति नगरि प्रा.वि. स्तरको शिक्षिका पठाएपछि बिगत १५ दिन देखि बिद्यालयले हाजिर नगराउँदा पठन पाठन प्रभावित भएको हो। 

बिगत दशौं बर्ष देखि नगरपालिका भित्र शिक्षामा भएको संगठित भ्रष्टाचारले लथालिङ्ग भएको नगरको शिक्षालाई तहसनहस गर्न लापरवाही गरिआएका नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलले नगर भित्रका सामुदायिक विद्यालयहरुमा आफ्नो मनलाग्दी हिसाबले शिक्षक शिक्षिकाहरुलाई खटाउँदै आएका छन्। 

यसै सन्दर्भमा मा.वि स्तरको बिद्यालयमा प्रा.विका शिक्षक शिक्षिकाहरु, प्रा.वि स्तरका शिक्षक शिक्षिकाहरुलाई मा.वि, नि.मा.विमा पठाएर राजनैतिक दबाब, भागबन्डा, नातावाद र मोटो रकम असुलीका आधारमा नगरको शिक्षालाई कमाई खाने भाडो बनाएर मेयर सञ्जय काफ्ले र नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलले शिक्षा जस्तो क्षेत्रमा मनलाग्दी गरि नगरलाई ध्वस्त बनाएको धारणा सोहि वडाका वडा अध्यक्ष बोधनाथ देवकोटा (रवि)ले व्यक्त गरेका छन्। 

वडा अध्यक्ष देवकोटाले नगरमा शिक्षा र स्वास्थ्यको क्षेत्र लगायतका पुरै नगरपालिका नै लथालिङ्ग मात्र हैन भताभुङ्ग नै भएको बताउँदै युवाहरुलाई भनेर दिइएको भोट खेर गएको बताएका छन्। 

यसैसन्दर्भमा आज आइतवार नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलसँग वडा अध्यक्षले आफ्नो बिमति राखिरहदा नगर शिक्षा समितिका संयोजकसमेत रहेका वडा नं१ का वडा अध्यक्ष बलराम राउतले शिक्षक शिक्षिकाहरुको पद बहाली गर्दा र शिक्षाको सन्दर्भमा आफुलाई कुनै पनि बैठकमा नबोलाउने, जानकारी नदिने, मेयर र मण्डल मिलेर मनलाग्दी हिसाबले नगरपालिकाको शिक्षा क्षेत्रलाई एकलौटी ढङ्गले चलाएको पाठशाला न्युजलाई बताएका छन्। 

वडा नम्बर ३ का वडा अध्यक्ष देवकोटाले आफ्नो वडा भित्रको बिद्यालयमा हाल माध्यमिक स्तरको शिक्षक शिक्षिकाहरुको अभावलाई प्रा.वि स्तरको पदपूर्तिले सम्बोधन नगर्ने बताउँदै नगरको शिक्षा क्षेत्रको बिकासमा लापरवाही नगरियोस् भनि नगर शिक्षा अधिकारी मण्डललाई चेतावनी समेत दिएका छन्।