पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल ल्याउन अझै ३ महिना लाग्ने

२०८० फाल्गुन ३०, बुधबार १३:०२ बजे

बारा : मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल ल्याउन अझै ३ महिनाभन्दा बढी कुर्नुपर्ने देखिएको छ । आगामी ३ साताभित्र सम्पन्न गर्नुपर्ने पाइप लाइन परियोजनाको काममा ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा निर्धारित समयमा नसकिने भएको हो ।
नेपाल आयल निगम अम्लेखगञ्ज डिपो प्रमुख विनितमणि उपाध्यायले यही गतिमा काम गर्दा पनि ठेकेदार कम्पनीलाई अझै ३ महिना लाग्ने बताए । ठेकेदार कम्पनीले दैनिक बिहान ८ बजेदेखि राति ८ बजेसम्म काम गर्दै आएको छ । ‘अहिलेकै गतिमा काम गर्दा पनि तोकिएको समयमा सम्पन्न गर्न कुनै हालतमा सम्भव छैन,’ निगमका अम्लेखगञ्ज डिपो प्रमुख उपाध्यायले भने, ‘औपचारिक रुपमा त भन्न मिल्दैन तर अझै कम्तीमा २ देखि ३ महिना समय लाग्ने देखिन्छ ।’
मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइनको दोस्रो चरणको काम यही मार्चभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर हालसम्म ६५ देखि ७० प्रतिशतमात्रै काम सम्पन्न भएको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनसँगको सम्झौता अनुसार पाइप लाइनको दोस्रो चरणको सम्पूर्ण काम लिखिता इन्फ्रास्ट्रक्चरले गरिरहेको छ ।
निगमको अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ भण्डारणका लागि ४ वटा ट्याङ्की र २ वटा फायर वाटर ट्याङ्की निर्माणको काम भइरहेको छ । पाइप लाइनको दोस्रो चरणको पूर्वाधार निर्माणको क्रममा २ अर्ब १४ करोड भारतीय रुपैयाँ लगानी हुने निगमले जनाएको छ । जसमध्ये ६० करोड भारतीय रुपैयाँ भारतीय आयल कर्पोरेसनको र १ अर्ब ५४ करोड भारतीय रुपैयाँ नेपाल आयल निगमको लगानी छ ।
मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परियोजना अन्तर्गत २०७६ भदौदेखि पाइप लाइनबाट डिजेल आयात सुरु भएको थियो । दोस्रो चरणको काम भने सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको हो ।
पाइप लाइनको दोस्रो चरणको परियोजना अन्तर्गत ४ वटा पेट्रोल ट्याङ्की निर्माण कार्य अन्तिम चरणमा छ । जसमा २ वटा भारतीय आयल कर्पोरेसनले र २ वटा नेपाल आयल निगमले निर्माण गरेको हो ।

आईओसीले ४१–४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोलको ट्याङ्की निर्माण गरेको छ भने नेपाल आयल निगमले ५०–५० लाख लिटरको २ वटा ट्याङ्की निर्माण गरेको छ ।
६ वटा ट्याङ्कीमध्ये साना २ वटा २५० लाख किलोलिटरको ट्रान्समिक्स ट्याङ्की (एउटै पाइपबाट पेट्रोल र डिजेल आउँदा मिक्स भएको पेट्रोलियम पदार्थलाई राख्न बनाइएको ट्याङ्की), पीएमसीसी भवन (विद्युतीय प्रवाह गर्ने रुम), ट्याङ्करहरूलाई चेकिङ गर्न गार्ड हाउस, कन्ट्रोल रुम, एकैपटक ८ वटा ठाउँबाट पेट्रोल ट्याङ्कीमा तेल भर्न ‘बे हाउस’ निर्माणको काम तीव्र गतिमा भएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पेट्रोलियम पाइप लाइन परियोजनाको दोस्रो चरणको काममा म्याद थप नगर्ने बताएका छन् ।