पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

पर्सा प्रहरी प्रमुख ढुङ्गेललाई लालटिन उपहार, मेयर सिंहलाई अझै भएन कारबाही

२०८० चैत्र २१, बुधबार २१:३८ बजे

जलेश्वर सर्राफ 

वीरगंज- बुधबार किर्ते नागरिकता प्रकरणमा वीरगंजका मेयर राजेशमान सिंहलाई अहिलेसम्म कानुनी दायरामा ल्याउन नसकेकाले साङ्केतिक बिरोध स्वरुप आज जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेललाई लालटिन उपहार दिइएको छ । 

सचेत नागरिक समाज पर्साका सदस्य तथा वीरगंजका स्थानीय सर्वसाधारण र विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले ढुंगेललाई लालटिन उपहार दिएका हुन् । 

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अर्काकी छोरीलाई नागरिकता दिलाएर गरेको नागरिकता किर्ते र तिनका लागी गरेको सरकारी कागजात किर्ते लगायतको प्रमाण दिँदा समेत यहाँको स्थानीय प्रशासनले नदेखेको कारण भन्दै साङ्केतिकरूपमा लालटिन जुलुस निकालेर वीरगंज महानगरको परिक्रमा गरि जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर सम्पन्न उक्त लालटिन जुलुसको समापन गरिएको थियो।

सचेत नागरिक समाज पर्सा र वीरगंजका स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले वीरगंजको घण्टाघरबाट निकालेको र्याली नगरको माईस्थान, महाविरस्थान, आदर्शनगर, घडीअर्वा हुँदै जिल्ला प्रहरी कार्यालय पुगेको थियो । त्यसपछि प्रदर्शकारीहरुले प्रहरी नायब उपरीक्षक मार्फत प्रहरी प्रमुखलाई लाल्टिन उपहार बुझाएका थिए। 

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषयमा पुस २४ गते मात्र खुलासा भएको थियो । मेयर सिंह बिरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, गृह मन्त्रालयदेखि ७ वटा निकायमा जाहेरी परेको छ । यस विषयमा गृह मन्त्रालयका सह-सचिव पुष्कर राणाको संयोजकत्वमा छानविन समिति बनेपनि प्रतिवेदन अझैसम्म बाहिर आएको छैन । किर्ते प्रकरण सार्वजनिक भएको तीन महिना पुग्न लाग्दा हालसम्म कारबाही प्रक्रिया अगाडि नबढाएको भन्दै विरोधका कार्यक्रम हुँदै आएको छ । तर पनि प्रशासनले कारबाही गर्ने छाँटकाँट नदेखाएकाले सांकेतिक रुपमा विरोधको कार्यक्रमहरू गर्न लागिएको प्रदर्शनमा सहभागी जनमतका नेता शशिकपुर मियाले बताएका छन्।

मेयर सिंहले नयाँ नयाँ हतकण्डा अपनाइरहने, प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट प्रमाण नपाएको बताइरहने नियतले देशमा कानुनी राज्यको उपहास सहित अभाव खड्किएको जनमत पार्टीका केन्द्रीय सदस्य मुकेश द्विवेद्विले बताएकाछन् । उनले भने, ‘मेयर सिंहले गृहमन्त्रालयको छानबिन समितिलाई बुझाएको किर्ते गरेको जन्मदर्ता, सिफारिस लगायतको सहीछापका आधारमा कारवाही प्रकृया अगाडि बढाउन सकिन्छ । तर प्रमाण मेटाउन एकपछि अर्को किर्ते गरिरहँदा गृह प्रशासनले किन टुलुटुलु हेरेर बसेको हो भनी गम्भीर प्रश्न चिन्ह समेत खडा भएको छ। र यस्ता गतिविधिले सरकारी अनुसन्धान नै कमजोर देखिएको छ।" 

मेयरले कारबाहीबाट बच्न कानुनी छिद्रतामा टेकेर कहिले दोश्रो श्रीमती स्विकार्ने, कहिले अंश तथा सम्बन्ध विच्छेदको मुद्दा दिन लगाउने, कहिले पञ्जिकरण अधिकारीलाई प्रलोभनमा पारी किर्ते कागजात स्विकार्न दबाब दिने त कहिले धाकधम्की दिने काम गर्दै आएपनि प्रहरी प्रशासनले कारबाही गर्नुको साटो मेयरसँग साँठगाँठ गरेको प्रदर्शनकारीहरूको आरोप छ । 

विरोध कार्यक्रममा जनता समाजवादी पार्टीबाट वडा नम्बर १ का वडा अध्यक्ष मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रीय सदस्य मुकेश द्विवेद्वि, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष दिलिप कुर्मी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति मोहम्मद सहाबुदिन, राप्रपाबाट महानगर अध्यक्ष जलेश्वर सरार्फ, नेकपा एमालेका नेता लियाकत अलि लगायतको उपस्थिति रहेको थियो ।