पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

बागमती नदीको बगर अतिक्रमण, सम्बन्धित निकाय मौन

२०८० पौष १, आईतबार ०९:४५ बजे

वृन्दावन : रौतहटको वृन्दावन नगरपालिकामा पर्ने बागमती बगरको नदी उकास जमिनमा अतिक्रमण भएको छ । बगर अतिक्रमण हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
वनको हजारौँ हेक्टर जमिन स्थानीय बासिन्दा तथा सुकुम्बासीको नाममा मकवानपुर, चितवन, सिन्धुली र काभ्रेबाट झरेकाहरूले अतिक्रमण गरेका हुन् ।
काँस घारी, खयर र बयरले छपक्क हरियाली रहेको बागमती बगरलाई अक्रिमणकारीले मासेर यति वेला धमाधम खेती गर्दा र घरटहरा बनाउँदा समेत डिभिजन वन कार्यालय रौतहटको ध्यान जान नसकेको स्थानीय बासिन्दाले बताए ।
जंगली जनावरको वासस्थान रहेको बागमतीको हरियाली फाँट हिजोआज उजाड बनेको स्थानीय बासिन्दाको भनाइ छ । वृन्दावन नगरपालिका–१ मा पर्ने बलेरी गाउँको पूर्वपट्टी रहेको बागमतीको बगरलाई केही दिनदेखि सुकुम्बासीको नाममा फँडानी गरी खेती गर्दा समेत कसैको ध्यान नगएको भन्दै स्थानीय बासिन्दाले त्यसको विरोध गरेका छन् ।

पछिल्लो केही महिनायता बागमतीको बगरमा रहेका खयर, काँस र बयरलाई मासेर अतिक्रमणकारीले खेत बनाउँदा समेत डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले चासो नदिएको वृन्दावन नगरपालिका–२ का वडाध्यक्ष सिकेन्द्र पटेलले बताए ।
वन कर्मचारीकै मिलेमतोमा रातमा ट्याक्टर लगाएर हरियो बगर मासी अतिक्रमणकारीले सुकुम्बासीको नाममा अतिक्रमण गरेको वडाध्यक्ष पटेलको भनाइ छ । हरिण, बँदेल, वन खरायो, नील गाईको वासस्थानका रूपमा परिचित बलेरीको बागमतीको बगर अतिक्रमणको चपेटामा पर्दा डिभिजन वन कार्यालयले चासो नदिनु दुःखद रहेको पटेलले गुनासो गरे ।
बलेरी, विश्रामपुर लगायत जिल्ला बाहिरका मान्छेले सुकुम्बासीको नाममा बगर अतिक्रमण गरी बनाएको खेत किनबेच हुँदै आएको स्थानीय बासिन्दाले बताए । बागमतीको बगर अतिक्रमण गरी खेती गर्न थालेपछि ३० देखि ५० हजारमा एक बिघा विक्री हुने गरेको स्थानीयले बताए । आफ्नो ६ बिघा जमिन रहे पनि अरूले बगरमा खेत बनाएको देखेर आफूले समेत एक बिघा बगर कब्जा गरी मुसुरो लगाएको बगरमा भेटिएका हरि साहले बताए ।
केही दिनयता रातमा ट्याक्टर लगेर बगरमा भएका बुट्यान मासेर खेती गर्ने होडबाजी चलेको स्थानीय बासिन्दा बिगु राउतले बताए । रातभर दर्जनौँ ट्याक्टरले बुट्यान जोतेर बगर उजाड बनाउँदा समेत वन कर्मचारीले चासो नदिएको राउतले बताए ।
यसअघि पनि बागमती बगर अतिक्रमण गरी घरटहरा तथा खेती गरिएकोमा पछिल्लो समय हजारौं हेक्टर हरियो बगरमा खेती गर्ने काम भएको राउतको भनाइ छ ।
डिभिजन वन कार्यालय रौतहटअन्तर्गतको सब वन डिभिजन कार्यालय बलेरीका प्रमुख सहायक वन अधिकृत अनिलकुमार महतोले यसअघि समेत बगर अतिक्रमण भएको र अहिले पनि ठूलो संख्यामा रहेका स्थानीय बासिन्दाले बागमतीको बगरमा खेती गर्ने गरेको स्विकारेका छन् । आफूहरूसँग पर्याप्त जनशक्ति नभएकाले अतिक्रमण रोक्न नसकेको र यस विषयमा आफूहरूले कति जमिन अतिक्रमण भयो भन्ने विषयमा तथ्यांक संकलन गरी डिभिजन वन कार्यालयले बुझाउने महतोले बताए ।