पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

भ्रष्टचार र कुशासन आर्थिक समृद्धिको मुख्य बाधक : गृहमन्त्री श्रेष्ठ

२०८० माघ २५, बिहीबार १५:५४ बजे

महोत्तरी : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धिको बाधक भ्रष्टाचार र कुशासन भएको बताएका छन् । महोत्तरीको बर्दिबासस्थित आधारशीलाको २१ औ वार्षिकोत्सवको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यसलाई नै मुल आधार बनाएर सरकारले काम गरेको बताए ।
भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण नगरे विकास र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै उनले सरकारले त्यसको क्रमिकरुपमा नतिजासमेत देखाइरहेको दाबी गरे । ’गृहमन्त्रालय समाले कै दिन पञ्चायतकालदेखि खाइरहेको गृहमन्त्रीको सुविधा पनि खारेज गरेँ,’ उनले भने, ’शरणार्थी काण्डदेखि बाँसबारी छालाजुत्तासम्म आइपुग्दा सरकार अडिग भएर लागिरहेको छ ।’

काम होस् भनेर खबरदारी गर्नेहरु कै कारण सरकारमा आत्मबल सञ्चार भएको बताउँदै गृहमन्त्री श्रेष्ठले पैसावाला, राजनीति पहुँच भएकाहरूले भने सरकारको कामको विरुद्ध खबरदारी गर्ने गरेको पनि बताए ।
सामन्तवादको निकृष्ट सोच कै कारण मिटरव्याजी मौलाएको र यसलाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक लागीपरेको उनको भनाई छ । ५ हजार भन्दा बढी पिडितहरुलाई अहिलेसम्म न्याय दिलाईसकेको बताउँदै सुशासन स्थापनामा सरकारले अभियान नै बनाएको गृहमन्त्री श्रेष्ठले बताए ।
अहिले मिटरव्याजी पीडितहरुले गरेको आन्दोलनलाई संकेत गर्दै उनले आन्दोलनले सरकारलाई बल मिलेतापानी गलत ढंगले त्यसलाई प्रयोग गर्न नहुने सुझाए । विभिन्न तरिकाले जालसाँजी गरी राज्यलाई ठग्नेविरुद्ध सरकाले कारबाही अगाडि बढाएको र यहि प्रक्रियाअन्तर्गत बाँसबारी छालाजुत्तामा सग्लनहरुको छानबिन भइरहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।