पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

दयाहाङ राईको ग्याङस्टर फिल्म ‘रंगेली’को टिजर सार्वजनिक

२०८० माघ १, सोमबार १२:३७ बजे

काठमाडौं : दयाहाङ राई, अर्पण थापा, मिरुना मगर स्टारर ग्याङस्टर–ड्रामा ‘रंगेली’को टिजर सार्वजनिक भएको छ । कथावस्तु र चरित्र चित्रण दर्शाइएको फिल्मको टिजरलाई स्टाइलिस देखाउने प्रयत्न गरिएको छ । दयाहाङ राईको पात्र विजयलाई बन्दुकधारीले अपहरण गरेको दृश्यबाट टिजर सुरु हुन्छ । एक मिनेट ३७ सेकेण्ड लामो टिजरले फिल्मको केन्द्रीय द्वन्द्वलाई चित्रण गर्छ ।
अर्पण थापा भगवान दादाको भूमिकामा छन् भने मिरुना जुनकिरीको भूमिकामा प्रस्तुत छिन् । विजय र भगवान दादा पैसा र सम्बन्धलाई लिएर हुने आमनेसामने वरपर टिजर घुमेको छ । मिरुना थारु युवतीको भूमिकामा देखिएकी छिन् ।
फागुन २५ गते महाशिवरात्रिको दिनमा प्रदर्शनको तयारीमा रहेको फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । फिल्ममा प्रवीण खतिवडा र रमेश बुढाथोकी पनि शीर्ष भूमिकामा छन् ।
फिल्मका गीत हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलेस बस्नेतको संगीत छ ।
जितेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता हुन् । निर्माता संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिवशंकर चौलागाईं सहनिर्माता हुन् । विवेक खड्का (योलो) एसोसिएट निर्माता हुन् । छायांकार सुसन प्रजापति हुन् ।
फिल्मलाई अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुक र ठाउँमा एकसाथ रिलिज गर्ने तयारी छ ।