पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

व्यापारी ठग्ने दुई प्रहरी कारवाहीको दायरामा,३१ थान मोबाइल बरामद

२०८० फाल्गुन १४, सोमबार १२:५४ बजे

सञ्जय मिश्रा/न्युज कारखाना
रौतहट : मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुईलाख रुपैया ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ ।
डिआईजी पोखरेलको निर्देशनमा आरोपीद्वय जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव प्रहरी हिरासतमा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा दुवैजनामाथि आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शिर्षकमा दुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले बताएका छन ।

आइतबार नै जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थमाएर दुबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रवक्ता एसएसपी महतोले जानकारी दिएका छन् ।
महोत्तरीको महोत्तरी गाउँपालिका– ५ घर भएका सहायक हवलदार दीपेन्द्र र सुनसरी जिल्लाको देवागन्ज गाँउपालिका २ घर भएका प्रहरी जवान रोशन मिलेर जनकपुरका एकजना व्यापारीसँग यही ८ फागुनमा विभिन्न ब्राण्डको ३१ थान मोबाइल खरिद गरेका थिए ।
पछी मोबाईल फिर्ता गर्ने भनेर व्यापारीसँग दुईलाख रुपैयाँसमेत लिएर पटकपटक माग गर्दा पनि फिर्ता नगरेपछि बाध्य भएर पीडित व्यापारीले १३ फागुनमा उनीहरू विरुद्ध प्रदेश प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए ।
उजुरीपछि सहायक हवल्दार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि उनकै बयानको आधारमा सोहि दिन जनकपुर उमनपा ७ अन्जनीमाई कुटी को उत्तर पोखरीको डिलमा तल झाडीमा स्यानो रातो ब्यागमा लुकाई छिपाई राखेको उक्त ३१ थान मोबाईल र दुईलाख मध्ये ९५ हजार रुपैयाँ उनीहरूको रोहवारमै बरामद भएको थियो ।
दुईदिनको अनुसन्धान पछि हिजोदेखि कार्वाही प्रक्रिया सुरु गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जारीहरेको सूचनामा उल्लेख गरिएको छ ।