पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

आज राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिँदै

२०८० फाल्गुन २०, आईतबार ०९:०८ बजे

काठमाडौं : आज राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आजदेखि बिदा हुन लागेका हुन् ।
पदावधि सकिनेहरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एमालेका आठ, नेपाली कांग्रेसका चार, नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एक एवं राष्ट्रपतिबाट मनोनित एक गरी २० जना रहेका छन् ।
उनीहरूको ठाउँमा माघ ११ मा भएको राष्ट्रिय सभा निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् । भोलि उनीहरूको शपथ कार्यक्रम राखिएको छ भने एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ ।
गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाको समीकरण नै बदलिएको छ । माओवादी पहिलो ठूलो दल बन्दा कांग्रेस दोस्रो ठूलो दलको हैसियतमा रहनेछ । यस्तै एमाले तेस्रोमा खुम्चिएको छ । नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ ।
२०७४ सालमा नयाँ संविधान जारी भएपछि भएको राष्ट्रिय सभा निर्वाचनबाट ५६ जना सदस्य निर्वाचित भएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए ।
निर्वाचनपछि राष्ट्रियसभाका ५९ सदस्यहरूको कार्यअवधि गोला प्रथाबाट निर्धारण गरिएको थियो । उनीहरूको २, ४ र ६ वर्ष गरी ३ प्रकारको कार्यकाल तय गरिएको थियो। २ र ४ वर्ष कार्यकाल पूरा गरेकाहरू बिदा भइसकेका छन् भने ६ वर्ष कार्यकालको समय पाएका २० सांसदको आज बिदाइ हुन लागेको हो ।
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आज अपरान्ह ४ बजे बस्ने बैठकमा छ वर्ष कार्यकाल पूरा गरेका सदस्यहरूको विदाइ कार्यक्रम राखिएको छ ।