पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

६ हजार टनभन्दा बढी राहत सामग्री गाजा पुग्यो

२०८१ आषाढ ७, शुक्रवार १९:३२ बजे

काठमाडौं- अमेरिकी सेनाले गाजाको तटमा सहायता पुर्‍याउनका लागि पुन: निर्माण गरिएको अस्थायी घाटबाट राहत सामग्री आउन थालेको बताएको छ ।

सेनाका अनुसार बिहीबार ६ हजार टनभन्दा बढी राहत सामग्री यही घाट हुँदै गाजा पुगेको थियो । यो एकै दिनमा घाटबाट गाजा पुग्ने सबैभन्दा ठूलो सहायता सामाग्री हो ।

अमेरिकी सेनाले गाजाको तटमा ३० करोड डलरको लागतमा यो पियर स्थापना गरेको हो । तर, पछिल्लो समय तीव्र हावा र खराब मौसमका कारण यो घाट दस दिनदेखि सञ्चालन हुन सकेको थिएन ।

जुन ८ मा इजरायली सैन्य बन्धकहरूको रिहाइको लागि अपरेशन सुरु भएदेखि संयुक्त राष्ट्र संघले यो घाटको प्रयोग बन्द गरेको थियो ।

इजरायली सेनाले आफ्नो सैन्य कारबाहीमा घाट वरपरको क्षेत्र प्रयोग गरेको थियो । इजरायलले दक्षिणी गाजामा सहायताका लागि सुरक्षित मार्ग स्थापना गर्ने वाचा गरेको थियो, जुन अझै पूरा भएको छैन ।

दक्षिणी सहर रफाहमा इजरायली सेनाको कारबाहीका कारण यहाँको मुख्य चौकी पनि बन्द गरिएको छ ।