पाठशाला न्यूज
 २०८१ आषाढ २१, शुक्रवार    

आज दुर्गा प्रसाईंले शक्ति प्रदर्शन गर्दै,७ ठाउँबाट र्याली निकालिँने

२०८० फाल्गुण १, मङ्गलवार ०९:५८ बजे

काठमाडौँ : व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले मंगलबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । प्रसाईंले काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि उक्त स्थान खाली नभएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि सहभागी गराउने दाबी गरेका थिए । तर, शाह भने यति बेला चितवनमा रहेका छन् । उनी कार्यक्रममा सहभागी नहुने बताइएको छ । अभियानको वार्षिक उत्सव कार्यक्रमका लागि देशभरबाट आम नागरिकहरू सहभागी हुने प्रसाईंले बताएका छन् । यसका लागि काठमाडौँका विभिन्न सात स्थानबाट र्याली गर्दै सभा स्थलमा भेला हुने तयारी छ ।
पहिलो रुटमा कीर्तिपुर, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने मिटरब्याजी पीडितको ब्यानरमा शम्भु थापाको नेतृत्वमा र सचिवालय सदस्य विजय कँडेलको संयोजकत्वमा कोशी अञ्चल अध्यक्ष विरेश कुमार थापा र मेची अञ्चल अध्यक्ष ध्रुव शिवाकोटी सह संयोजक रहनेछन् ।

दोस्रो रुट ककनी, गंगबु, बालाजु नयाँ बजार, रानीपोखरी हुँदै र्याली कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने छ । यसमा नागरिक बचतको अध्यक्ष मण्डल सदस्य राजु पनेरुको नेतृत्वमा र प्रवीण लामाको संयोजकत्वमा सचिवालय सदस्य लक्ष्मी ज्ञवाली, सचिवालय सदस्य कृष्ण बहादुर के.सी सगरमाथा अञ्चल अध्यक्ष सह संयोजक रहनेछन् ।
त्यस्तै लुभु, लामाटार, सानागाउँ, ग्वार्को, लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर, हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने तेस्रो रुटमा निर्माण व्यवसायीको ब्यानरमा ऋषिबाबु परियारको नेतृत्व र शक्ति शाहीको संयोजकत्वमा भेरी र नारायणी अञ्चल अध्यक्ष सह–संयोजक रहनेछन् । स्वयम्भू, ताहचल, डल्लु, वसन्तपुर हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने चौथो रुटमा सचिवालय सदय एवं ऋणी एसोसिएसन ब्यानरमा प्रमुख देवी सङ्ग्रौलाको नेतृत्व र किशोर महर्जनको संयोजकत्वमा गण्डकी अञ्चल अध्यक्ष र लुम्बिनी अञ्चल अध्यक्ष सह–संयोजक रहनेछन् ।
यसै गरी पाँचौँ रुट वनस्थली, सोह्रखुट्टे, ठमेल, लैनचौर, रानीपोखरी हुँदै कार्यक्रम स्थल तर्फ प्रवेश गर्नेछ । यसमा अध्यक्ष मण्डल सदस्य एवं प्रशासन विभाग प्रमुख आनन्द प्रसाद प्याकुरेलको नेतृत्व र यातायात विभागको ब्यानरमा सानु पुर्वछानेको संयोजकत्वमा धौलागिरि र राप्ती अञ्चल अध्यक्ष सह–संयोजक रहनेछन् । उता चाबहिल, गौशाला, जोरपाटी, मैतीदेवी, नक्साल हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने छैटौँ रुटमा सांस्कृतिक विभागको ब्यानरमा अध्यक्ष मण्डल सदस्य एवं संगठन विभाग प्रमुख हरि कार्कीको नेतृत्व र डीपी बजगाईंको संयोजकत्वमा जनकपुर अञ्चल अध्यक्ष दिनेश पाख्रिन र कर्णाली अञ्चल अध्यक्ष रेणु शाही, भूपू संघका अध्यक्ष नपसिंह कार्कीको सहसंयोजक रहनेछन् ।
सातौँ रुट भक्तपुर, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र माइतीघर हुँदै कार्यक्रम स्थल तर्फ प्रवेश गर्ने तय गरिएको छ । यसमा उपत्यका संयोजक राजेन्द्र लाखाको नेतृत्व र यदुनाथ सिग्देलको संयोजकत्व र महाकाली, सेती अञ्चल अध्यक्ष सह संयोजक रहने छन् ।

प्रसाईंले व्यवस्था परिवर्तन गर्ने भन्दै यसअघि पहिलोपटक गत मङ्सिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रम गरेका थिए ।