पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

केरुङ र तातोपानी जोड्ने सडक पूर्वाधार सुधार गर्न व्यापारीको माग

२०८० माघ २७, शनिबार १४:३२ बजे

काठमाडौँ : उद्योगी व्यापारीले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधार सरकारले उच्च प्राथमिकता दिएर व्यवस्थित गर्नुपर्ने माग गरेका छन् ।
शनिवार काठमाडौँमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारणसभालाई सम्बोधन गर्दै उनीहरूले यस्तो माग गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधारलाई सरकारले उच्च प्राथमिकता दिएर व्यवस्थित गर्न आवश्यक रहेको बताए ।
ढकालले सरकारले चीनसँगको व्यापार व्यवसाय सहज बनाउन सबैभन्दा पहिला सडक सञ्जाललाई व्यवस्थित बनाउनुपर्ने बताए ।
यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चिनियाँ नाकालाई आयातमुखी भन्दा पनि निर्यात प्रवर्धनको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

उनले केरुङ र तातोपानी नाकालाई निर्यात प्रवर्धनको रूपमा विकास गर्न दुवै नाकामा अन्तरराष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याब सरकारले राख्न आवश्यक रहेको बताए । उनले क्वारेन्टाइनको अभावका कारण सामान गुणस्तर नहुने भन्दै नेपाली सामान चीनले निर्यात गर्न नचाहेको बताए ।
मल्लले चीनसँग नेपालको १ खर्ब ४५ अर्ब व्यापार घाटामा रहेको भन्दै पर्यटन प्रवर्धन र नेपाली जडिबुटीको निर्यात गर्नसके चीनसँगको व्यापार घाटा कम गर्न सकिने दाबी गरे ।