पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन रौतहट प्रशासनको अपील

२०८० फाल्गुन १३, आईतबार १४:५५ बजे

काठमाडौं- जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउन अपील गरेको छ ।

गृहमन्त्रालयको पत्राचारपछि आइतबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको, ऐलानी, सन्धिसर्पन, गौचरन, घाट आदी जग्गाहरु कानुनविपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएको सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेका भए १५ दिनभित्र सूचना वा प्रमाण उपलब्ध गराउन अपील गरेका हुन् । 

गत बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर गृहमन्त्रालयले सरकारी र सार्वजनिक जग्गा मिच्नेलाई कारबाही गर्न निर्देशन दिएको थियो । साथै गृहले सम्पूर्ण सार्वजनिक तथा सरकारी जग्गाको विवरण पठाउन र कुनै संघ संस्था वा व्यक्तिले मिचेर भोग चलन गरेको भए कारबाही गर्न पनि निर्देशन दिएको थियो । 

सोही पत्रअनुसार जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण १५ दिनभित्र उपलब्ध गराउन सूचना जारी गरेका हुन् । 

सूचनाको पूर्णपाठ :

सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउने सम्बन्धी जरुरी सूचना ।

यस जिल्लामा कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको, ऐलानी, सन्धिसर्पन, गौचरन, घाट आदी जग्गाहरु कानून विपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएका सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेको, दाखिला खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्य विपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको, सरकारी वा सार्वजनिक जग्गा दुरुपयोग गरी दर्ता स्रेस्ता कायम गर्ने गरी निर्णय गरेको र सो को आधारमा दाखिल खारेज गरेको वा हक स्वामित्व कायम गरेको वा त्यसरी कायम भएको स्वामित्ववाट बिक्री बितरण गरेको, समय तोकी वा नतोकी भोगाधिकार सृजना गरेको, धितो बन्धक राखेको आदी जुनसुकै प्रकारको गैर कानूनी काम कारवाही सम्बन्धी आफूसँग भएको सूचना वा प्रमाणको विवरण १५ दिन भित्र यस कार्यालयमा सोझै वा इमेल मार्फत (इमेल ठेगाना मबयचmगममब२नmबष्.िअयm) मा उपलब्ध गराइदिनुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।

हिरालाल रेग्मी

प्रमुख जिल्ला अधिकारी