पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

हैदराबादको रामोजी फिल्म सिटीमा ‘पुष्पा २’ को छायांकन सुरु

२०८० श्रावण २२, सोमवार १०:४१ बजे

काठमाडौं–अल्लु अर्जुनका फ्यान लामो समयदेखि ‘पुष्पा २’ लाई उत्सुकतासहित पर्खिरहेका छन् । केही महिनाअघि सुरु भएको फिल्मको छायांकन सेटमा आइतबारदेखि अल्लु अर्जुन सहभागी भएका छन् ।
अल्लुलाई लिएर निर्माताले भारतको हैदराबादमा छायांकन थालेका हुन् । स्थानीय रामोजी फिल्म सिटीमा अल्लुसहितका अन्य कलाकारले छायांकन सेट ज्वाइन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतका विभिन्न स्थानमा छायांकन पूरा गरेपछि निर्माताले हैदरावादमा ‘पुष्पा २ द रुल’को नयाँ कार्यतालिका थालेको फिल्म निकट स्रोतले जनाएको छ । नयाँ तालिकाको प्रि–प्रोडक्सनको काम सकिएको छ ।
कलाकारले रामोजी फिल्म सिटीमा ‘पुष्पा २’ को केही महत्वपूर्ण दृश्यको छायांकन गर्ने स्रोतले जानकारी दिएको छ । यसका लागि त्यहाँ आलिशान सेट निर्माण गरिएको छ । दर्शकलाई भव्य भिजुअल ट्रीटको महसुस गराउन निर्माताले कुनै कसर बाँकी राखेका छैनन् ।
‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल हो । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् । यसमा अल्लु अर्जुनबाहेक फहद फासिल र रश्मिका मन्दाना पनि थिए । दुवै अब ‘पुष्पा २’ मा पनि देखिनेछन् । ‘पुष्पा २’ मा विजय सेतुपति पनि रहने बताइएको छ ।
निर्माताले अप्रिल २०२३ मा अल्लु अर्जुनको जन्मदिनमा ‘पुष्पा २’ को टिजर सार्वजनिक गरेका थिए, जसले फ्यानलाई उत्साहित तुल्याएको थियो । टिजरमा पुष्पराज जेलबाट भागेर कसरी बेपत्ता भएका छन् भन्ने देखाइएको छ । उनलाई आठवटा गोली लागेको थियो । उक्त टिजर हेर्दा दर्शकलाई पुष्पाको मृत्यु भयो भन्ने लाग्न सक्छ । जबकि जंगली जनावरका लागि जडान गरिएका क्यामेरामा उनी जंगलमा कैद हुन्छन् ।