पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

आजबाट राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला सुरु

२०८१ वैशाख २६, बुधवार ०७:५६ बजे

काठमाडौं : राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला बुधबार शुरु हुँदैछ। ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ मह मेला शुरु हुन लागेको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजना र नेपाल मौरीपालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सहआयोजनामा पाँच दिने मेला आयोजना गरिएको हो ।
नेपाल मौरीपालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महका बारेमा उपभोक्तालाई परिचित गराउने मेलाको उद्देश्य रहेको बताए ।
व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले नेपाली मह विश्वमै उत्कृष्ट हुँदाहुँदै बजार नपाएकाले अहिलेको अवस्थालाई चिर्न महोत्सवले प्रभावकारी भूमिका खेल्ने बताए । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष जानुकादेवी थापाले नेपालमा उत्पादित महको उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना रहेको बताइन् ।
मेलामा मह काढ्ने तरिका, महसम्बन्धी सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम प्रविधिको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुने आयोजकले जनाएको छ ।
भीर मौरी, कठौरी मौरीलगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री वितरण हुनुका साथै मौरी र महसम्बन्धी विभिन्न अनुसन्धानमूलक जानकारी प्रस्तुत गरिने बताइएको छ ।