पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

अमेरिकी वरिष्ठ अधिकारी रियर एडमिरल इलिन लाउबाचर भोली नेपाल आउँदै

२०८० मंसिर १९, मंगलबार १५:०९ बजे

काठमाडौँ : अमेरिकाका दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर बुधबार नेपाल भ्रमणमा आउने भएकी छन् ।
दुई दिनसम्म नेपालमा रहने निर्देशक लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
दुई दिनसम्म नेपालमा रहने उनको कार्यक्रमको बारेमा परराष्ट्र मन्त्रालय र नेपालस्थित अमेरिकी दूतावासले गृहकार्य गरिरहेको छ ।
उनी नेपाल आउनुअघि अमेरिकाबाट कुटनीतिज्ञको एउटा टोली नेपाल आइपुगेको छ । साथै अमेरिकी सहयोग नियोग (युएसएआईडी)को एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल सिफर पाँच दिनदेखि नेपालमै छन् । उनी अर्थमन्त्री डा.प्रकाशशरण महतदेखि अन्य उच्चस्तरीय भेटघाटमा सक्रिय छन् ।
परराष्ट्रमन्त्री साउद कात्तिक ८ गते अमेरिका भ्रमणमा गएको बेला निर्देशक लाउबाचरसँग भेटेका थिए । त्यतिबेलादेखि नै उनको नेपाल भ्रमणको तयारी चलिरहेको थियो । असोज ३ गते संविधान दिवसको अवसरमा अमेरिकास्थित नेपाली दूतावासमा भएको कार्यक्रममा निर्देशक लाउबाचर सहभागी थिइन् । त्यहाँ पनि उनको नेपाल भ्रमणको बारेमा चर्चा भएको थियो ।
गत माघ २४ मा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी) की प्रमुख सामन्था पावर नेपाल आएकी थिइन् । त्यसअघि माघको दोस्रो साता अमेरिकी विदेश मन्त्रालयको उपमन्त्री भिक्टोरिया नुल्याण्डले पनि नेपाल भ्रमण गरेकी थिइन् । फागुन १ गते अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले पनि नेपाल भ्रमण गरेका थिए ।

गत चैत १३ गते नेपाली सेना र अमेरिकी सेनाबिच चौथो संस्करणको स्थल सेनासम्बन्धी द्विपक्षीय संवाद पनि भएको थियो । सो संवादको नेतृत्व अमेरिकी सेनाको तर्फबाट एसिया प्यासिफिक कमाण्डका उपप्रमुख मेजर जनरल क्रिस्टोफर स्मिथले गरेका थिए ।
त्यस्तै, आसार २९ गते दक्षिण र मध्य एसिया मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पनि नेपाल भ्रमण गरेका थिए । भदौ १५ गते अमेरिकी सिनेटर क्रिस भान होलेनले पनि नेपालको भ्रमण गरेका थिए । उनले पनि प्रधानमन्त्री प्रचण्डदेखि लिएर अन्य उच्चस्तरीय भेटघाट गरेका थिए ।