पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग

२०८० श्रावण ११, बिहीवार ०९:४३ बजे

काठमाडौँ–सांसदहरूले मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेर पानीको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले खानेपानीको समस्या भएका ठाउँमा पानीको आपूर्ति सहज बनाउन माग गरे ।
‘तराई साउने घामले रापिएको छ । देशभरि मनसुन त छ तर त्यहाँ पानी पर्दैन,’ यादवले भने, ‘घरअघि धसिएका चापाकलबाट पनि पानी निस्किन्न । कुनैबेला ५० देखि एक सय फिटमै पानीको मूल फाल्ने चापाकल अहिले ३ सय फिटसम्म गाडिन्छन् तर बाह्रैमास पानी तान्न सकिरहेको छैन ।’
समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई जानकारी गराएपछि मातहतका निकायलाई निर्देशन दिए पनि सम्बन्धित विभागले बजेट अभावले केही गर्न नसक्ने जवाफ दिने गरेको उनले बताए । ‘नगरपालिकाले वितरण गर्ने पानी थाप्न हानाथाप हुने गरेको छ,’ उनले भने, ‘सरकार निरीह छ । आकस्मिक कोषबाट भए पनि तराईमा पानीको समस्या समाधान गर्नुपर्छ ।’
राप्रपा सांसद बिना जैसवालले तराईमा दुई महिनादेखि पानीको हाहाकार भए पनि सरकारले वास्ता नगरेको गुनासो गरिन । ‘अझै एक महिना समस्या भएमा जनताको अवस्था के हुन्छ ? पानी नपाएर छटपटाइरहेका छन्,’ उनले भनिन्, ‘केन्द्र र प्रदेश सरकारले बेवास्ता गरेका छन ।’