पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८० चैत्र २८, बुधबार १३:०५ बजे

काठमाडौं- बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ ।

कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ । 

अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ।

थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले बताएको छ । सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।

मेयर थापाको जीवनीमा हालसालै नेपाली चलचित्र मेयर छायांकन भैरहेको बेलामा चर्चा परिचर्चा हुँदै गर्दा उनी बिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । 

उनले गरेको भ्रष्टाचारलाई छोप्ने गरि आफ्नै जिवनीमा आधारित चलचित्र निर्माण गर्न लगाएर यस चलचित्र मार्फत आफुलाई विकासवादी मेयरको रुपमा चित्रण गर्न खोजिएको समेत उनि माथि बिपक्षीहरुको आरोप बिच अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।