पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

मनसुनको न्यूनचापीय रेखा नेपालतिर सर्यो

२०८० श्रावण २२, सोमवार ०९:५५ बजे

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा नेपालतिर सरेका कारण सोमबारदेखि तुलनतात्मक रूपमा बढी पानी पर्ने जल तथ मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा सोमवार बिहानदेखि बादल लागेको छ र फाट्टफुट्ट वर्षा पनि भइरहेको छ।
सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावनासमेत छ ।
सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली हुने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। यी देशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना पनि छ। कोशी प्रदेशका थोरै स्थानमा हावा हुरीको पनि सम्भावना छ ।
वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले सजग रहन महाशाखाले अनुरोध गरेको छ । खासगरी जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।