पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

रौतहटमा हँसियाले रेट्दा पत्नीको मृत्यु

२०८० चैत्र १४, बुधबार २०:१६ बजे

रौतहट : रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ मा पतिपत्नीबीच भएको विवादमा पतिले हँसियाले घाँटी रेट्दा पत्नीको मृत्यु भएको छ ।
वृन्दावन नगरपालिका वडा नम्बर १ बलेरी गाउँको तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले हँसियाले गर्धनमा प्रहार गर्दा उनकी पत्नी अन्दाजी ३५ वर्षीया सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको हो ।
दिउँसो बागमतीको बगरमा घाँस काट्न गएका पतिपत्नीबीच विवाद हुँदा तीर्थले हँसियाले पत्नीको घाँटी रेटेर हत्या गरेका थिए । अत्यधिक मापसे गरेका तीर्थले विवाद हुँदा आफूले पत्नीलाई हँसियाले घाँटी रेटी हत्या गरेको भन्दै गाउँमा आएर हल्ला गरेका थिए । गाउँलेलाई आफूले पत्नीको हत्या गरेको बताएका तीर्थले घरको आँगनमा आएर आफ्नो गर्धनमा आफैँले हँसियाले प्रहार गर्दा उनी पनि सिकिस्त भएका छन् ।
पत्नीको हत्या गरेपछि पति घरमा आएर आफैँले आफ्नै घाँटी हँसियाले रेट्दा सिकिस्त भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

घाइते तीर्थको अहिले चन्द्रनिगापुर स्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए । स्थानीयको खबरपछि घटनास्थलमा पुगेको प्रहरीले अहिले घटनाको मुचुल्का तयार गरिरहेको बताएको छ ।