पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

जन्तीलाई माछा खान नदिएपछि कुटाकुट

२०८० फाल्गुन २३, बुधबार १३:४५ बजे

सञ्जय मिश्रा
पर्सा : जन्तीलाई खानामा माछा नदिँदा जन्ती र बेहुलीपक्ष बिच कुटपिट भएर अन्तमा बिहे बहिष्कार गरी जन्ती फिर्ता गएको घटना प्रकाशमा आएको छ ।
पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका ४ को मधवल गाउँमा सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट सोमबार राती आएको जन्तिमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बेहुली नलिईकन बेहुलासहितको जन्ती फिर्ता गएको छ ।
जन्तीमा आएकाहरुले खानामा माछा नपाएको कारण भनाभन हुँदै कुटापिटमा परिणत भएको थियो । कुटापीटमा बेहुलाका बुबा घाइते भएपछि बिहेनै नगरी जन्ती खालीहात फिर्ता हुने अवस्था आएको थियो ।
कुटपीट भएपछि जन्तीहरु सबैजना भागेका थिए । जन्ती भागेको देखेर बेहुली पक्षका मानिसहरुले बेहुलालाई घरमै थुनेर राखेका थिए । घटनाको खबर पाएर तत्काल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर मोहन विक्रम केसीको कमाण्डमा गएको टोलीले बेहुलाको उद्दार गरी प्रहरी कार्यालयमा सुरक्षित राखेका थिए ।
इलाका प्रहरी कार्यालय पोखरीयामा हिजो मंगलबार दुईपक्ष बिच छलफल हुँदा बेहुलीले बिहे गर्न इन्कार गरेपछि जन्ती सहित बेहुला आफ्नो घर फर्केको इन्स्पेक्टर केसीले बताएका छन् ।
स्थानिय सञ्चारकर्मी संजीव मिश्रका अनुसार एकजना जनप्रतिनिधिले घटना मिलाएर बिहे गराइदिने दिनभरि प्रयास गरेपनि असफल भएका थिए । केटी पक्षधरले दाइजोको १२ लाख रकम फिर्ता लिने अडान राखेका छन् भने केटाको पक्षले बिहेमा खर्च भएको भन्दै पैसा फिर्ता नदिने दाउमा रहेका छन् ।
पर्सा प्रहरी प्रवक्ता डिएस्पी कुमार बिक्रम थापाले घटनाको पुष्टि गरेका छन । बेहुला र बेहुली पक्षबिच कुटपिट उग्र भएपछि इन्स्पेक्टर केसीको पहलमा साम्य भएको प्रवक्ता थापाले जानकारी दिएका छन् । पछिल्लो समय मधेश प्रदेशमा छोरीको बिहेमा जन्ती आउँदा प्रायः मानिसले खानामा माछा दिने गर्दछन् । कतिपय दुईपक्ष बीच खानाको बारेमा के ख्वाउने भनेर पहिल्यै सहमति हुने गर्दछ ।
यसरी बिहेमा माछा न ख्वाउँदा कुटपिट सम्म हुने र बिहेनै बहिष्कार गरी जन्ती फिर्ता हुनु आफैमा अप्रिय घटना भएकाले गाउँका अगुवाहरु पुनः कुनै गाउँमा यस्ता दुःखद घटना नहोस भनेर चनाखो हुनु अथवा चेतना फैलाउनु जरुरी देखिन्छ ।