पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

अमेरिका लैजाने भन्दै काठमाडाैंमा बन्धक बनाइएका ११ भारतीयकाे उद्धार, ८ जना पक्राउ

२०८० फाल्गुन ४, शुक्रबार १८:५७ बजे

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडाैंबाट खटिएको विशेष टोलीले अमेरिका पठाउने नाममा काठमाडाैं ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाडाैंबाट खटिएको विशेष टोलीले उनीहरूलाई बुधबार राति काठमाडाैंको रातोपुल क्षेत्रबाट उद्धार गरेको हाे ।

भारतीय नागरिकलाई अमेरिका पठाउने प्रलाेभनमा पारेर बन्धक बनाएकाे आराेपमा ८ जनालाई पक्राउ गरिएकाे  परिसरले जनाएकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा इन्दुसिंह यादव, निपुन गुप्ता, चरनजित सिंह, अशाेक कुमार, अब्दुल रहिम, मनिष कुमार मल्होत्रा, रवि मेवाडे र रामचन्द्र शर्मा छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार उनीहरुले गौशालामा घर नै भाडामा लिएर बन्धक बनाएको खुलेको छ । उनीहरूले अमेरिका पठाइदिने भन्दै पीडितबाट ४० लाख भारतीय रुपैयाँ लिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।